प्रशासनिक नेतृत्वको कारण राजनीतिक नेतृत्व आक्रान्त बनेको छः प्रमुख सचेतक बर्तौला
काठमाडाैँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रशासनिक नेतृत्वको कारण राजनीतिक नेतृत्व आक्रान्त भएको बताएका छन् ।
आइतवार संघीय निजामती सेवा विधेयकका सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकको प्रशासनिक नेतृत्वलाई सुधार्न निजामती विधेयकमा गम्भिरताका साथ काम गनुपर्ने बताएका हुन् । उनले राजनीतिक नेतृत्वले नीतिगत निर्णय मात्र गर्ने भएकोेले मुलुकको नेतृत्व कर्मचारी प्रशासनले गरिरहेको बताए ।
पछिल्लो समय ठूला ओहोदाको कर्मचारीले राज्य र सरकारले बनाएका ऐनहरुलाई नै चुनौति दिन थालेको बताए । उनले हेटौँडाको मयुरधाप औद्योगिक क्षेत्रको उदाहरण दिँदै सरकारका नीतिगत निर्णयमा समेत सचिव तहका कर्मचारीहरु वाधक बनिरहेको बताए । उनले सरकारले गौरवको परियोजनाको रुपमा अघि सारेको उद्योगको सञ्चालनको निर्णयमा वन सचिवले टिप्पणी उठाएर सरकारलाई चुनौति दिइरहेको बताए ।
उनले कर्मचारी प्रशासनको सुधार नभएकै कारणले अहिले राज्यको प्रमुख प्रशासनिक क्षेत्रमा बहाल हुँदाहुँदै अन्तर्राष्ट्रिय नियोगहरुमा जागिर खान जानु गम्भिर विषय भएको बताए । अहिले संघीय निजामति सेवा विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको छ । —न्युज एजेन्सी नेपाल