भीम रावलबारे एमाले नेताहरूः पार्टी निर्णयविरुद्ध लाग्दा निष्कासित गर्नु सामान्य र औपचारिक प्रक्रिया
काठमाडाैँ । नेकपा (एमाले) का नेताहरूले पार्टीबाट पूर्वउपाध्यक्ष डा. भीम रावललाई निष्कासन गर्नु औपचारिक र सामान्य प्रक्रिया भएको बताएका छन् ।
आइतवार केन्द्रिय कमिटिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनीहरूले यस्तो बताएका हुन् । केन्द्रिय सदस्य महेश बस्नेतले विगत तीन वर्षदेखि पार्टी गतिविधिमा सक्रिय नहुनु भएको र पार्टी निर्णयको विरोधमा उत्रिएपछि कारबाही गरिएको बताए । उनकाअनुसार पार्टीले सोधको स्पष्टिकरण समेत नदिएको र अर्कै देशव्यापी अभियान सञ्चालन गर्न लागेको सूचना पाएपछि रावललाई पार्टीबाट निष्कासन गरेको हो ।
सांसद योगेश भट्टराईले उनीलाई अगामी राजनीतिक बाटो अवलम्वन गर्न सजिलो होस् भनेर एमालेले निकास दिएको बताए । उनले रावलले कम्युनिष्ट विचार र कम्युनिष्ट आन्दोलन छोडेको विषयले नै उनी एमालेबाट राजिखुशी निस्किनुभएको स्पष्ट भएको बताए ।
“अहिलेको परिस्थितिमा उहाँले नै कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट विचार छोडेको कुराहरु आइरहेको छ । यसबाट नै पुष्टि हुन्छ उहाँ राजिखुशीले नै उहाँलाई राजनीतिक बाटो अवलम्वन गर्न सजिलो होस भने नै नेकपा एमालेले निकास दिएको हो,”उनले भने ।
पार्टी गतितिविधिमा सक्रिय नहुने र पार्टीको विधान नमान्ने जोकोहीलाई कारबाही गरिनु सामान्य विषय भएको उनको भनाइ छ । —न्युज एजेन्सी नेपाल