२३ पुस २०८१, मंगलबार

कृषि सहकारीका अध्यक्ष भन्छन्, ‘आवश्यक स्रोतको अभावले उत्पादन र क्षमता अभिवृद्धि गर्न कठिनाइ भयो’

प्रकाशित मिति :  6 January, 2025 10:48 am


काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले कृषि विकासका लागि आवश्यक स्रोत र सहयोगको अभावका कारण किसानहरूको उत्पादन र क्षमता अभिवृद्धि गर्न कठिनाइ भएको बताएका छन्। संघको १७ औं वार्षिक साधारणसभामा बोल्दै पाठकले कृषकहरूको उत्पादनको लागि गोदाम, सिचाई सुविधा, र आधुनिक प्राविधिक प्रशोधन उद्योगको कमीलाई प्रमुख चुनौतीको रूपमा प्रस्तुत गरेका हुन् ।

“कृषकहरूको उत्पादन बजारसम्म पुर्याउनका लागि आवश्यक नेटवर्क र गोदामहरूको अभाव छ, जसले उनीहरूको उत्पादनलाई उचित मूल्यमा बिक्री गर्न असहज बनाउँछ,” उनले भने।

साथै, उनले सहकारी ऐन २०७४ अन्तर्गत कृषि र पशुपालन क्षेत्रको व्यवसायिकरण र उत्पादकत्व वृद्धिका लागि थप जिम्मेवारी दिइएको उल्लेख गर्दै त्यसको सफल कार्यान्वयनका लागि तीनै तहका सरकार र अन्य सहयोगी निकायसँग सहकार्यको अपिल गरे।

अध्यक्ष पाठकले संघको दिगो आम्दानीको श्रोत नभएको कारण आगामी दिनहरूमा अझ चुनौतीपूर्ण अवस्था आउने आशंका व्यक्त गर्दै, यस समस्यालाई समाधान गर्न मितव्ययी ढंगले स्रोतहरूको उपयोग गर्ने र आन्तरिक श्रोतको परिचालनमा जोड दिने प्रतिबद्धता जनाए।

सदस्य संघ र संस्थाहरूलाई गैरवित्तीय सेवाहरू प्रदान गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको केन्द्रीय सहकारी संघमा सात वटा प्रादेशिक कृषि सहकारी संघहरू, ५४ जिल्लामा कृषि संघहरू, १३०३ प्रारम्भिक संस्थाहरू सदस्य रहेका छन्। यस केन्द्रीय संघले सक्रियताका साथ प्रतिनिधित्व गर्दै देशका विभिन्न स्थानमा छरिएर रहेका कृषि सहकारी संस्थाहरूको सवलिकरण र अनुसरण कार्यक्रममार्फत दुर्गम र संस्था नभएका स्थानीय तहमा साना किसान कृषि सहकारी संस्थाको सृजना र सदस्यता वृद्धि कार्य निरन्तर रूपमा गर्दै आएको संघले जनाएको छ।कृषि विकासका लागि आवश्यक स्रोतको अभावका कारण उत्पादन र क्षमता अभिवृद्धि गर्न कठिनाइ भयोस् अध्यक्ष पाठक



प्रतिक्रिया दिनुहोस !