सुनछहरी गाउँपालिका राेल्पाको रनिङ शिल्डमा धाँधली भएको भन्दै चौतर्फी आलोचना
उपविजेता नेपाल राष्ट्रिय मावि फगामले गर्यो नतिजा अस्विकार
दाङ । रोल्पाको सुनछहरी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्डमा धाँधली भएको आरोप लगाउँदै नेपाल राष्ट्रिय मावि फगामले पुरस्कार समाराेह बहिस्कार गरेको छ ।
रनिङ शिल्डअन्तर्गतको ज्यावलिङ खेलमा धाँधली भएको भन्दै पुरस्कार वितरण कार्यक्रम बहिस्कार गरी कुनै पनि पुरस्कार स्विकार नगरेको नेपाल राष्ट्रिय मावि फाङमका प्रधानाध्यापक चित्रबहादुर झाँक्री मगरले जानकारी दिए ।
विगत चार वर्षदेखि विद्यालयले लगातार शिल्ड जित्दै आएकोमा यसपटक शिल्ड जित्न नदिन षड्यन्त्र र धाँधली गरिएको भन्दै प्रधानाध्यापक झाँक्री मगरले आफूहरूमाथि भएको अन्यायपूर्ण व्यवहारको बिरोध गर्दै कुनै पनि पुरस्कार स्विकार नगरेको जानकारी दिए ।
“हाम्रो विद्यालयले चार वर्षदेखि लगातार शिल्ड जित्दै आएकाे थियाे । यसपटक पनि हाम्रो विजय सुनिश्चित थियो । ज्यावलिङ खेलमा नेपाल राष्ट्रिय मावि स्युरीका विद्यार्थीको ‘फल’ हुँदाहुँदै पनि त्यसलाई सदर गरेर हामीलाई हराइयो”, प्रधानाध्यापक झाँक्री मगरले भने, “आफूहरुमाथि भएको अन्यायका बिरुद्ध स्थानीय सरकारलाई हारगुहार गर्दा सुनुवाइ नभएपछि बाध्य भएर पुरस्कार बहिस्कार गर्यौं ।”
कलिला विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गरिनु उपयुक्त नभएको निष्कर्ष विद्यालयको रहेको उनको भनाइ छ । खेलप्रेमी, अभिभावक, विद्यार्थी सबैले ज्यवलिङमा फल भएको भन्दै बिरोध गर्दा पनि रेफ्रीको निर्णय भन्दै एकलौटी निर्णय सुनाएर आफूहरुलाई पाँचौं पटक शिल्ड विजेता बन्नबाट रोकिएकोमा प्रधानाध्यापक झाँक्री मगरले आक्रोश पोखे ।
नेपाल राष्ट्रिय मावि फाङमले ७ स्वर्ण, ५ रजत र २ कास्य पदक जितेको भन्दै झाक्री मगरले ज्यावलिङ खेलकै कारण विजेता बन्नबाट चुकेको जनाए ।
“ज्यावलिङमा हामीलाई षड्यन्त्रपूर्वक हराइयो । यो खेलमा विजय हासिल गरेको भए हाम्रो ८ स्वर्ण हुने थियो र हामी लगातार पाँचौं पटक विजेता हुने थियौं”, प्रधानाध्यापक झाँक्री मगरले भने, “खेल मैदानमा विद्यार्थीहरुको क्रन्दन र रुवाबासीले विद्यालयलाई यो निर्णयमा पुर्याएको हो । हामीले नतिजा स्विकारेका छैनौं । एकपक्षिय सुनाइएको नतिजाको कुनै अर्थ छैन ।”
यस्तो छ रनिङ शिल्डको नतिजा
२६ स्वर्ण, २६ रजत, २६ कास्य गरी ७८ पदकका लागि सञ्चालन भएको प्रतियोगितामा ७ स्वर्ण, ६ रजत, ३ कास्य १६ पदकका साथ नेपाल राष्ट्रिय मावि स्युरी प्रथम, ७ स्वर्ण, ५ रजत, २ कास्य गरी १४ पदक जित्दै नेपाल राष्ट्रिय मावि फगाम द्वितीय, ६ स्वर्ण, ३ रजत, ४ कास्य गरी १३ पदक जित्दै सरस्वती मावि घुमाउले तृतीय स्थान हासिल गरेको छ ।
साथै ३ स्वर्ण, १ रजत गरी ४ पदक जित्दै रोलवाङ मावि जेलवाङ चौथो, २ स्वर्ण, २ रजत, १ कास्य गरी ५ पदक जित्दै मेलघायाँ मावि जैमां पाँचौं, १ स्वर्ण, ३ रजत, ६ कास्य गरी १० पदक जित्दै देवीमन्दिर मावि पोवाङ छैठौं भएको छ, भने नमुना मावि कसलाले ४ रजत, ५ कास्य, जनसेवा मावि सेरामले २ रजत, ४ कास्य र जनता मावि गामले १ रजत, ३ कास्य जितेको छ ।
आक्रोश सामाजिक सञ्जालसम्म
सुनछहरी गाउँपालिकाको राष्ट्रपति रानिङ शिल्डको विवाद सामाजिक सञ्जालसम्म आई पुगेको छ । विद्यार्थीको भविष्यमाथि खेलबाड गरिएको भन्दै रनिङ शिल्डमा धाँधली गरिनु नहुने भन्दै पालिकामाथि आक्रोश पोखिएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा चित्र वियोग मगरले रनिङ शिल्डमा धाँधली गरेर कलिला विद्यार्थीको भविष्यमाथि खेलबाड गरिएकोमा आक्राेश पोखेका छन् । “धाँधली गरेर कलिला विद्यार्थीको भविष्यमाथि खेलबाड हेलचक्राइ गरियो हँ । रनिङ शिल्ड सुनछहरी”, आक्रोस पोख्दै चित्र वियोग मगरले लेखेका छन् । त्यस्तै गणेश डाँगीले पनि फेसबुकमार्फत् आक्रोश पोखेका छन् । उनले लेखेका छन्, “मासु र रक्सीमा बिक्दै कलिला विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने सहआयोजकलगायत स्थानीय रेफ्री सबैमा घोर निन्दा गर्दछौं । रनिङ शिल्ड सुनछहरी ।”
विद्यालयको टकरावलाई विवादको विषय बनाइयो : गाउँपालिका
सुनछहरी गाउँपालिकाले दुई विद्यालयको टकरावको विषयलाई लिएर गाउँपालिकालाई विवादित बनाएको प्रतिक्रिया दिएको छ ।
पालिकाका शिक्षा शाखा प्रमुख वसन्ती जोशीले रनिङ शिल्डमा धाँधली नभएको दाबी गरिन् ।
खेलमा रेफ्रीको निर्णय अन्तिम मानिने हुँदा विवादकाबिच रेफ्रीले गरेको निर्णयअनुसार नै आफूहरुले रनिङ शिल्डको नतिजा सुनाएको र सोहीअनुरुप नै पुरस्कार बितरण गरेको शिक्षा शाखा प्रमुख जोशीले जानकारी दिइन् ।
विद्यार्थीहरुको भविष्यमाथि खेलबाड भएको भन्दै चौतर्फि आक्रोश छ नि भन्ने लुम्बिनी सञ्चारको जिज्ञासामा जोशीले भनिन्, “दुई वटा विद्यालयको टकरावकाे विषयलाई लिएर गाउँपालिकालाई विवादित बनाइयो । यसो हुनु दुःखद् कुरा हो । हामीले रेफ्रीको निर्णयअनुसार नतिजा सार्वजनिक गरेको हो ।”
रनिङ शिल्डको उपविजेता नेपाल राष्ट्रिय मावि फाङमले पुरस्कार अस्विकार गरेको र धाँधली भयो भन्ने विषय गाउँपालिकाको समीक्षाको विषय भएको उनको भनाइ छ ।