राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४ अर्बको शिक्षण अस्पताल निर्माणका लागि इआए स्वीकृत
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको चार सय बेडको शिक्षण अस्पताल निर्माणको बाटो खुलेको छ ।
वन तथा वातावरण मन्त्रालयले अस्पताल निर्माणका लागि ४ अर्ब बजेट आवश्यक पर्ने प्रारम्भिक वातावरणीय मूल्यांकन (इआए) प्रतिवेदन स्वीकृत दिएपछि चार सय वेडको अस्पताल निर्माणको बाटो खुलेको प्रतिष्ठानका रजिष्टार प्राध्यापक श्याम लम्सालले जानकारी दिए ।
बजेटको सुनिश्चितताका लागि प्रतिष्ठानले अर्थ मन्त्रालयमा निवेदन पेस गरिसकेको भन्दै रजिष्टार प्रा. लम्सालले एक हप्ताभित्र बजेट सुनिश्चित हुने जानकारी दिए ।
“प्रतिष्ठानको चार सय वेडको शिक्षण अस्पताल निर्माणको बाटो खुलेको छ । वन तथा वातावरण मन्त्रालयले इआए प्रतिवेदन स्विकृति दिएसँगै अब बजेट सुनिश्चित गर्ने प्रक्रिया प्रारम्भ भएको छ”, रजिष्टार लम्सालले भने, “हामीले ४ अर्ब बजेट माग गरेका छौं । यसै हप्ता बजेट सुनिश्चित हुन्छ र लगत्तै टेण्डर प्रक्रिया अगाडि बढाउँछौं ।”
प्रतिष्ठानको शिक्षण अस्पताल भवन निर्माणका लागि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लगातार पहल गर्दै आएका थिए । महासचिव पोखरेलले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर बजेट सुनिश्चित गरिदिन माग गरेका थिए ।
चार सय बेडको टिचिङ अस्पताल निर्माणसँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवामा नयाँ अध्याय थपिने अपेक्षा गरिएको छ । यसले दाङ र आसपासका जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्य प्रतिष्ठानले राखेको छ ।