औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोग जरुरत छ : उद्योगमन्त्री भण्डारी
काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको आर्थिक समृद्धिका लागि औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगको आवश्यकता औँल्याएका छन् ।
मन्त्रालयद्वारा आयोजित उद्योग ४.० विषयक सरोकारवालाहरसँगको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले उद्योग ४.० लागू गरी कम लागतमा उत्पादन र उत्पादकत्व बढाउँदै नेपाली वस्तुहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनु आवश्यक भएको बताएका हुन् ।
“आधुनिक प्रविधिको उच्चतम प्रयोगले वातावरणको संरक्षण हुनुका साथै श्रम तथा लागत पनि न्यूनीकरण हुने भएकाले निजी क्षेत्रले यसमा जोड दिन जरुरी छ,” उनले भने, “नेपाल कम विकसित मुलुकबाट विकसित तर्फ उन्मुख भइरहेको परिप्रेक्षकमा औद्योगिक क्षेत्रको तीव्र विकास जरुरी देखिन्छ । जसका लागि औद्योगिक विकासमा आधुनिक प्रविधिको उच्चतम प्रयोग आवश्यक छ ।”
आधुनिक प्रविधिको उच्चतम प्रयोगबाट उत्पादन र उत्पादकत्व वृद्धि गरी छिमेकी देशहरूको बजार उपयोग गर्न सकेको खण्डमा छिट्टै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा हुने मन्त्री भण्डारीले विश्वास व्यक्त गरे । मन्त्रालयले व्यवसायीहरू समेतको सहभागितामा एक दिने उद्योग ४.० विषयक अन्तरक्रियाको आयोजना गरेको हो ।