२५ पुस २०८१, बिहिबार

२०८७ मा संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइप्रति विश्वप्रकाशको विमति

प्रकाशित मिति :  8 January, 2025 5:57 pm


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति विमति जनाएका छन् ।

बुधवार झापाको कचनकवलमा आयोजित नेपाली काँग्रेसको कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री ओलीको २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भन्ने भनाइप्रति विमति राखेका हुन् ।

उनले एमाले केन्द्रिय कमिटीको बैठकमा २०८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्ने धारणा राख्नुभएको भन्दै असहमति जनाए । उनले सात बुँदे समझदारीताका संविधान संशोधन आजको आवश्यकता भएकाले यही जगमा पुनःमूल्यांकन गरेर संशोधन गर्ने भनेको बताए ।

उनले संविधान संशोधन गर्न राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) को सहभागिता आवश्यक रहेको भन्दै माओवादी केन्द्र बिना दुई तिहाईको गणित नपुग्ने बताए । संविधान संशोधन गर्नका लागि गणितीय रुपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा नरहेको पनि स्पष्ट पारे । सरकारमा रहेका दुई राजनीतिक दलहरुले सहमति र छलफल नगरी कसैलाई पनि संविधान संशोधनको मिति तोक्ने अधिकार नरहेको स्पष्ट पारे ।

महामन्त्री शर्माले सबै राजनीतिक दलहरुलाई विश्वासमा लिएर संविधान संशोधन गर्न जरुरी रहेको बताए । ०८७ मै संविधान संशोधन गर्ने भएपनि काँग्रेस र एमालेको छलफलपछि मात्रै भन्न पाउने बताए । बिना छलफल ०८७ मा संविधान संशोधन गर्छौं भन्ने हक एमाले पार्टीको अध्यक्ष र काँग्रेसको महामन्त्री कसैलाई पनि नरहेको जिकिर गरे । —न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !