२५ पुस २०८१, बिहिबार

लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना बनाउनुपर्छ-मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  8 January, 2025 7:27 pm


बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना विश्व विद्यालय बनाउनेगरी भूमिका बढाउनुपर्ने बताएका छन् ।

प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना विश्व विद्यालय बनाउनेगरी भूमिका बढाउन आवश्यक रहेको धारणा राखेका हुन् ।

विश्व विद्यालयको छैठौं सभालाई बुधबार बाँकेमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले विश्व विद्यालयको शैक्षिक र प्रशासनिक सेवालाई थप प्रभावकारी बनाउन जरुरी रहेको धारणा राखे ।

‘‘यो विश्व विद्यालयलाई देशकै नमुना बनाउन चाहन्छौं । देशका विभिन्न स्थानबाट विद्यार्थीहरु यहाँ पढ्न आउने वातावरण र अवसर सरकारले सृजना गर्न चाहन्छौं’’, मुख्यमन्त्री आचार्यले भने, ’‘युगले खोजेको जनशक्ति, विश्व बजारमा खपत हुन सक्ने जनशक्ति उत्पादनको केन्द्र बनाउन चाहन्छौं । यो विश्व विद्यालयलाई सबैको आकर्षणको केन्द्र कसरी बनाउन सकिन्छ भन्ने बारेमा तपाई हामि सबै गम्भिर भएर अझ परिस्कृत गरेर अघि बढ्न जरुरी छ ।’’

प्रदेशबाट प्राविधिक जनशक्ति उत्पादन गर्ने संकल्प सहित विश्व विद्यालय स्थापना गरेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले शैक्षिक संस्थाहरुको अध्ययन केन्द्रको रुपमा समेत विकाश गर्ने लक्ष्य रहेको बताए ।

‘’विद्यार्थीलाई आकर्षण गर्न सक्नुपर्छ । आवश्यकताको आधारमा संकायहरु थप गर्ने बारेमा पनि सोच्न जरुरी छ’’, उनले भने, ‘’विद्यार्थीलाई कामसँग जोड्नै पर्छ । सरकारले यसमा ध्यान दिन्छ ।’’

विश्व विद्यालयका कुलपति समेत रहनुभएका मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अनुसन्धान र नवप्रवर्तन क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको समेत जानकारी गराए ।

विश्व विद्यालयको सिनेट बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगतिको समिक्षा, चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमलगायत विविध विषयहरुमा छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस !