२५ पुस २०८१, बिहिबार
अपराध

पाँच महिनामा ५ हजार ८४६ जना पक्राउ, ४२ करोडभन्दा बढी जरिवाना असुल

प्रकाशित मिति :  9 January, 2025 11:24 am


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\८२ को साउनदेखि मंसिरसम्म नेपाल प्रहरीले फरार प्रतिवादीहरूको पक्राउ र जरिवाना संकलनमा महत्त्वपूर्ण सफलता हात पारेको छ। पाँच महिनाको अवधिमा विभिन्न अपराधमा संलग्न ५ हजार ८४६ जना फरार प्रतिवादी पक्राउ परेका छन्। यस अभियानबाट कुल ४३ करोड ५ लाख ४२ हजार ५४ रुपैयाँ जरिवाना संकलन भएको छ।

प्रदेशगत रूपमा सबैभन्दा धेरै पक्राउ मधेश प्रदेशमा भएको छ। यहाँबाट १ हजार ५९४ प्रतिवादी पक्राउ परेका छन्, जसबाट ५ करोड १६ लाख ११ हजार ४५५ रुपैयाँ जरिवाना संकलन भएको छ। काठमाडौँ उपत्यकामा १ हजार २५३ जना पक्राउ परेका छन्। उपत्यकाबाट ९ करोड ९२ लाख ७५ हजार ७१४ रुपैयाँ जरिवाना संकलन भएको छ।

त्यस्तै लुम्बिनी प्रदेशमा १ हजार ३५ जना प्रतिवादी समातिएका छन्, जसबाट ३ करोड ८९ लाख ८४ हजार ३९ रुपैयाँ जरिवाना संकलन भएको छ भने कोशी प्रदेशमा ७३५ जना पक्राउ परेका छन्, र ३ करोड १५ लाख ९१ हजार १३७ रुपैयाँ जरिवाना संकलन भएको छ। त्यसैगरि बागमती प्रदेशबाट २६५ जना पक्राउ परेका छन्, र २ करोड ४४ लाख ४३ हजार ८३१ रुपैयाँ संकलन भएको छ।

गण्डकी प्रदेशमा ५०६ प्रतिवादी पक्राउ परेका छन्, र २ करोड ९९ लाख ९२ हजार २६ रुपैयाँ जरिवाना संकलन भएको छ।सुदूरपश्चिम प्रदेशमा २३५ जना पक्राउ परेका छन्। यहाँबाट २८ लाख ७२ हजार १२८ रुपैयाँ जरिवाना संकलन भएको छ।कर्णाली प्रदेशबाट १६९ जना पक्राउ परेका छन्, जसबाट २६ लाख ६८ हजार ३११ रुपैयाँ संकलन भएको छ। केंद्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ५४ जना प्रतिवादीलाई पक्राउ गरी १४ करोड ९१ लाख ३ हजार ४१३ रुपैयाँ जरिवाना संकलन गरेको छ, जुन सबैभन्दा उच्च रकम हो।

यस कदमले राज्यकोषमा ठूलो आर्थिक योगदान पुर्‍याउनुका साथै अपराधीहरूलाई कानुनी कठघरामा ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ।



प्रतिक्रिया दिनुहोस !