कानून परिवर्तन गरेर भएपनि त्रिभूवन विश्वविद्यालय सुधारेरै छोड्छुः शिक्षामन्त्री भट्टराई
काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कानूनी व्यवस्था परिवर्तन गरेरै भएपनि त्रिभूवन विश्वविद्यालयको सुधार गर्ने बताएकी छन् ।
बिहीवार काठमाडौँमा आयोजित शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) को साक्षात्कारमा उनले सबै विश्वविद्यालयहरु सुधान गर्न आवश्यक भएपनि सबैभन्दा पहिले त्रिभूवन विश्वविद्यालयको सुधार गर्नुपर्ने बताएकी हुन् । उनले विश्वविद्यालयहरूमा देखिएका समस्याहरू समाधान गर्न सबैभन्दा ठूलो भुमिका पदाधिकारीहरूले खेल्नुपर्ने बताइन् ।
विश्वविद्यालयका पदाधिकारीहरू राजनीतिक विचारसँग आवद्ध भएकोले नेतृत्त्वदायी भुमिका खेल्न नसकेको उनको बुझाई छ । उनले राजनीतिले मात्र पद निर्माण गर्छ भन्ने विचारको विकास गरिएका कारण राजनीतिक हिसावले नजोडिए पदीय जिम्मेवारी सम्हाल्न नसक्ने विश्वविद्यालयका पदाधिकारीहरूको बुझाई रहेको बताइन् । आफू मन्त्री भइसकेपछि विश्वविद्यालयको सुधारका लागि आयोगसँग पटक पटक छलफल राखेको बताइन् ।