२५ पुस २०८१, बिहिबार

शिक्षामन्त्री भट्टराईको दाबीः चिकित्सा शिक्षा आयोग र सिटिइभिटी बीचको क्षेत्राधिकार विवाद समाधान भइसक्यो

प्रकाशित मिति :  9 January, 2025 3:57 pm


काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) बीचको क्षेत्राधिकार विवाद समाधान भइसकेको दाबी गरेकी छन् ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बैठकमा बोल्दै उनले यस्तो दाबी गरेकी हुन् । विगत लामो समयदेखि चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बीच क्षेत्राधिकार र कानूनी प्रवन्धको बारेमा अन्तरद्वन्द्व रहँदै आएको थियो ।

मन्त्री भट्टराईले चिकित्सा शिक्षा आयोगले बनाएको शैक्षिक क्यालेण्डर सिटिइभिटीले पालना नगरेकोले दुवै संस्थाहरुबीच बारम्बार अन्तरद्वन्द्व रहेकोमा छलफलको माध्यममा समाधान गराएको बताइन् । उनले चिकित्सा शिक्षा आयोग र सिटिइभिटीबीच क्यालेण्डर पालना गर्ने सहमति भइसकेको बताइन् ।

उनले सिटिइभिटीको परिषद् र सभाको बैठक लामो समयदेखि बस्न नसकेकोमा आफूले आएपछि सुधारको प्रयत्न गरिरहेको बताइन् । संसदीय समितिले दिएको निर्देशन पालना गर्ने दायित्व सरकारको भएपन बेथिति भएको ठाउँ सुधार्न समय लाग्ने उनको भनाइ छ । 

बिहीवार समिति बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि संशोधनकर्ता सांसदहरुसँग छलफल भएको छ ।



प्रतिक्रिया दिनुहोस !