बलियो राजनीतिक दलले मात्रै देश बनाउन सक्छः महासचिव पोखरेल
काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिया राजनीतिक दलहरूले मात्रै देश बनाउनसक्ने बताएका छन् ।
बिहीवार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालामा बोल्दै उनले देश साना राजनीतिक दलहरु नभइ बलिया राजनीतिक दलहरुले मात्रै बनाउनसक्ने भएकाले सोहीअनुरुप जनमतलाई धु्रविकृत गर्न जरुरी रहेको उल्लेख गरेका हुन् ।
उनले मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको बताए । देशको कुनैपनि विकासका सन्दर्भमा भिजनरी लिडरसिप, स्ट्रङ पोल्टिकल पार्टी, पोल्टिकल स्टाब्लिटी जरुरी रहेको र त्यो नेकपा एमालेसँग मात्रै रहेको उल्लेख गरे ।
“यो मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले हो । कुनैपनि देशको विकासका सन्दर्भका बारेमा एक प्रकारले भन्दा तीन वटा मान्यताहरु राष्ट्र निर्माणका सन्दर्भमा अपरिहार्य हुन्छ । भिजनरी लिडरसिप, स्ट्रङ पोल्टिकल पार्टी, पोल्टिकल स्टाब्लिटी । दृष्टिकोणयुक्त नेतृत्वको प्रश्नमा नेकपा एमालेसँग कसैले प्रतिष्पर्धा गर्न सक्दैन । नेकपा एमाले जस्तो बलियो पार्टी अरु कसैको छैन । यो पार्टीले मुलुकमा राजनीतिक स्थायित्व दिन सकेन भने अरु कुन पार्टीले दिनसक्छ ? त्यसअर्थमा मुलुकलाई राजनीतिक स्थायित्व चाहिएको छ,” उनले भने ।
महासचिव पोखरेलले स्ववियु चुनावबाट देशभक्तिका पक्षमा, विकास र समृद्धि, सामाजिक न्यायका पक्षमा उभिने युवाहरुलाई अनेरास्ववियुको झण्डामुनि उभ्याउने कामको नेतृत्व गर्नुपर्ने बताए ।