पृथ्वी जयन्ती मनाउन शिर्ष राजनीतिक दलका नेताहरूलाई प्रधानमन्त्री बनाइदिन्छौँ भन्दै सौदाबाजी गर्नुपर्ने अवस्था छः अध्यक्ष लिङदेन
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वी जयन्ती मनाउन शिर्ष राजनीतिक दलहरूसँग सौदाबाजी गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित ‘नेपाल र नेपालीको पहिचानमा पृथ्वीनारायण शाहको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले प्रमुख राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री बनाइदिन्छौं तर पृथ्वीजयन्ती मनाउनुपर्छ भनेर सौदाबाजी गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।
उनले क्यालेण्डरमा लेखाइएको भएपनि सरकारले पृथ्वी जयन्तीका अवसरमा एउटा सार्वजनिक गर्ने हिम्मत समेत गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे । उनले मुलुकको एकीकरण गर्ने महान व्यक्तिको जन्मजयन्ती मनाउन हिनतावोध गर्ने व्यक्तिबाट मुलुकको संरक्षण नहुने बताए ।
उनले पृथ्वीनारायण शाहले नेपालको एकीकरण नगरेको भए कुन देशको राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री बन्नुहुन्थ्यो ? भन्दै प्रश्न गरे । पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको रुपमा मनाउने र पृथ्वीनारायण शाहलाई आदर्श पुरुषको रूपमा मान्ने कुरामा कुनै हिनतावोध गर्न नुहने उनको भनाइ छ ।
नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती मनाइँदै आएको छ ।