२५ पुस २०८१, बिहिबार

पहिलोपल्ट नेपालमा दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुँदै

प्रकाशित मिति :  9 January, 2025 5:37 pm


काठमाडाैँ । काठमाडौंमा आगामी शनिवारदेखि प्रथम दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुने भएको छ ।

नेपाल जितकुण्डो मार्सल आट्र्स संघको आयोजनामा पहिलोपल्ट नेपालमा दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुन लागेको हो । दुईदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । जितकुण्डो मार्सल आट्र्स संघले काठमाडौंमा बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै दक्षिण एशियामा पहिलोपल्ट हुन लागेको एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिताबारे जानकारी दियो ।

यस प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश र श्रीलंकाका गरी कुल ७० खेलाडीले प्रतिष्पर्धा गर्नेछ । आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले ब्रुस ली खेल र शिद्धान्तबाट शुरु भएको यस खेललाई नेपालमा विकास गर्न अन्तर्राष्ट्रिय प्रतियोगिता आवश्यक रहेकाले दक्षिण एशियाली च्याम्पियनसिप गरिएको बताए ।

प्रतियोगितामा पुरुषमा पाँच र महिलामा गुई गरी ७ स्पर्धामा प्रतिष्पर्धा गर्नेछन् । पुरुषमा ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा खेल हुनेछ। महिलामा ५५ केजीमुनि र ५५ केजीमाथि तौलसमूहमा  प्रतिष्पर्धा हुनेछ । 

हरेक तौलसमूहमा नगद पुरस्कार राखिएको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जानकारी दिए । स्वर्ण विजेतालाई ४१ हजार र अन्य पदक विजेतालाई पनि पुरस्कारको व्यवस्था गरिएको उनको भनाइ छ । कुल पुरस्कार राशि तीन लाख ५० हजार रुपैयाँ रहेको छ । नेपालबाट हरेक तौलसमूहमा तीन खेलाडीको प्रतिष्पर्धा रहेन भएको छ । प्रतियोगितामा टोखा नगरपालिकाको मुख्य प्रायोजन छ ।

प्रतियोगिता सञ्चालन गर्न अनुमानित २२ लाख खर्च लाग्ने आयोजकले जनाएको छ। यस प्रतियोगितालाई लक्षित गरी नवौं टेडवाङ जितकुण्डो सेमिनार बिहीवारदेखि बत्तीस पुतलीमा शुरु भएको छ । दुईदिने सेमिनारको पहिलो दिन खेलाडी र प्रशिक्षक सहभागी छन् । दोस्रो दिन शुक्रवार रेफ्री सेमिनार हुनेछ । मुख्य प्रशिक्षक स्पेनका जेक्विन मार्सेलो र सहायक प्रशिक्षक पोल्यान्डका माइकल जाप्लाले सेमिनारमा प्रशिक्षण दिनेछन् ।



प्रतिक्रिया दिनुहोस !