२५ पुस २०८१, बिहिबार

तुलसीपुरमा आन्दोलन : क्षतिपूर्तिको मागमा बजार तनावग्रस्त

प्रकाशित मिति :  9 January, 2025 5:28 pm



दाङ । दाङको तुलसीपुर बसपार्कमा बुधबार भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएकी तिर्सना घर्ती मगरको न्यायका लागि आफन्त र स्थानीयवासीले प्रदर्शन गर्दै बजार बन्द गराएका छन्।

बसको ठक्करबाट ३९ वर्षिय तिर्सना घर्ती मगरको मृत्यु भएपछि उत्पन्न आक्रोशले तुलसीपुर बजार तनावपूर्ण बनेको छ। प्रदर्शनकारीहरूले उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग राख्दै ठाउँ–ठाउँमा टायर बालेर विरोध जनाएका छन्।

तुलसीपुर–५, सम्झना टोलकी तिर्सना घर्ती मगरलाई लु प्र ०२००१ ख ००४४ नम्बरको बसले ठक्कर दिएको थियो । ठक्करपछि गम्भीर घाइते भएकी तिर्सनालाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याए लगत्तै, उपचारकै क्रममा सवा २ बजे उनको मृत्यु भएको थियाे ।

घटनामा संलग्न बस र त्यसका चालक, तुलसीपुर–६ निवासी ४२ वर्षिय खेमराज ओलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ। तर, मृतकका परिवारले चालक र यातायात समितिलाई दोषारोपण गर्दै उचित क्षतिपूर्ति र निष्पक्ष छानबिनको माग गरेका छन्।

मृतकका आफन्त र स्थानीय बासिन्दाबीच प्रहरी प्रशासन र यातायात समितिसँग पटक–पटक वार्ता भए पनि सहमति जुट्न सकेन। वार्ता विफल भएपछि आक्रोशित भिडले बजार बन्द गराउँदै सडकमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनले तुलसीपुर बजारको जनजीवन अस्तव्यस्त भएको छ। बजारका अधिकांश व्यापारिक प्रतिष्ठान र शिक्षण संस्थाहरू बन्द छन्। प्रदर्शनकारी र प्रहरीबीच केही स्थानमा झडपको स्थिति समेत सिर्जना भएको छ।

प्रदर्शनकारीहरूले क्षतिपूर्ति सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। स्थानीय प्रशासनले परिस्थितिलाई नियन्त्रणमा लिन वार्ता र समन्वयलाई तीव्र बनाउने प्रयास गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !