२५ पुस २०८१, बिहिबार

कोशी प्रदेशकै लामो झोलुङ्गे पुल उद्घाटन

प्रकाशित मिति :  9 January, 2025 5:41 pm


काठमाडाैँ । झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर ६ र ७ जोड्ने देशकै तेस्रो लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।

बिहीवार झापा क्षेत्र १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुलको उद्घाटन गरेका हुन् । यससँगै पुल कोशी प्रदेशकै लामो पुल बनेको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथि निर्माण भएको ४७७ मिटर लम्बाइको झोलुङ्गे पुल बिहीवारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । पुल उद्घाटन गर्दै महामन्त्री शर्माले पुल आवतजावतको लागि सहज मात्रै नभइ यसले स्थानीयवासीको जीवन बदल्ने विश्वास लिएको बताए । 

अब बुद्धशान्ति गाउँपालिकाका दुई वटा वडाहरुलाई मात्रै जोड्ने नभइ पुलले इलाम र झापाका गाउँहरूलाई पनि जोड्ने स्थानीयवासीको आशा छ । सोही आशा यथार्थमा परिणत हुने विश्वास आफूहरूले लिएको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताए ।

पुलमा अहिलेदेखि नै मानिसहरूको घुइँचो लाग्न थालेको छ । गत असार २४ गते झापा क्षेत्र नम्बर १ का सांसद तथा नेपाली काँग्रेसका महामन्त्री शर्माले पुलको शिलान्यास गरेका थिए ।  थानी जगदम्बा जेभी काठमाडौंले निर्माण गरेको झोलुङ्गे पुलको ठेक्का रकम ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैयाँ ३५ पैसामा पारेको थियो ।

२०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्ने भएपनि करिव ६ महिनामै उक्त काम सम्पन्न भएको हो ।



प्रतिक्रिया दिनुहोस !