तुलसीपुर आन्दाेलन : मृतककी छोरीलाई १२ कक्षासम्म निःशुल्क शिक्षा र अतिरिक्त क्षतिपूर्ति दिने सहमति
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–५ की ३९ वर्षिया तिर्सना घर्ती मगरको बस दुर्घटनामा मृत्यु भएपछि मृतक परिवारसँग सहमति जुट्दै दुई लाख रुपैयाँ अतिरिक्त क्षतिपूर्ति र छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने सहमति भएको छ।
त्रिशिद्धेश्वरी यातायात प्रालिले मृतककी छोरीको शैक्षिक जिम्मेवारी लिने प्रतिवद्धता जनाएपछि सहमति सम्भव भएको हो। मृतककी छोरी हाल कक्षा ८ मा अध्ययनरत छिन् ।
दुर्घटना पश्चात, मृतकका आफन्तले दिनभर तुलसीपुर बजार ठप्प पार्दै विरोध प्रदर्शन गरेका थिए। गत बुधबार दिउँसो १:४५ बजे तुलसीपुर बजारबाट बसपार्कतर्फ जाँदै गरेको लु.प्र. ०२००१ ख ००४४ नम्बरको बसले पैदल हिँडिरहेकी घर्तीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते घर्तीको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनाको लगत्तै, बस चालक खिमराज वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक तुलसीपुर–६ निवासी ४२ वर्षीय हुन्। दुर्घटनापछि सुरुमा असहमति रहेको वार्ता दोस्रो चरणमा प्रवेश गरेपछि मृतक परिवार र सम्बन्धित पक्षबीच सहमति भएको हो।
यो सहमतिले मृतक परिवारलाई राहत दिनुका साथै सार्वजनिक सवारी साधनका चालकहरूमाझ जिम्मेवारीको भावना जागृत गराउन प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।
याे पनि पढ्नुहाेस्