२६ पुस २०८१, शुक्रबार

प्राथमिकता निर्धारण गरेर ७२० जना शिक्षकलाई तालिम दिँदै काठमाडौँ महानगरपालिका

प्रकाशित मिति :  10 January, 2025 12:40 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले ७२० जना शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना गर्ने भएको छ ।

‘टिचर कलेज कार्यक्रम’अन्तर्गत शिक्षकहरुको क्षमता विकास गराएर यसबाट प्राप्त योग्यता र सिपलाई नतिजा सुधारको लक्ष्य राखेर तालिम सञ्चालन गर्न लागिएको हो । माघ ३ गते सुरू हुने तालिममा महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई सहभागी गराइने महानगरले जनाएकाे छ । तालिममा सहभागी हुन महानगरपालिकाले जारी गरेको क्युआर कोड वा लिङ्कबाट आवेदन गर्न सकिनेछ ।

आवेदकमध्येबाट सामुदायिक विद्यालयका शिक्षकलाई छनोट प्राथमिकतामा राखिनेछ । शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित बनाउने लक्ष्य राखेर सञ्चालन गर्न लागिएको तालिममा ७२० जना शिक्षकलाई सहभागी गराइनेछ । यसमा काठमाडौँ महानगरपालिकाभित्र स्थायी बसोबास भएका र महानगरपालिकाभित्रका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई दोस्रो प्राथमिकतामा राखिने । स्थायी बसोबास जहाँको भए पनि काठमाडौँ महानगरपालिकाभित्रका जुनसुकै विद्यालयमा अध्यापन गराउने शिक्षकलाई छनोटको तेस्रो प्राथमिकतामा राखिएको छ ।

शिक्षा विभागले आज शिक्षकहरुलाई तालिम सम्बन्धी सूचना जारी गरेको छ । यसअन्तर्गत माघ ३ र ४ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरुलाई तालिम हुनेछ । हरेक विषयमा ६० जना शिक्षकलाई तालिममा सहभागी गराइनेछ ।

माघ ३ गतेदेखि ८ गतेसम्म प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकहरुका लागि केन्द्र सञ्चालन व्यवस्थापनका लागि तालिम हुनेछ । यस समूहमा ९० जना शिक्षकलाई सहभागी गराइनेछ । कक्षा १ देखि कक्षा ३ सम्म अध्यापन गराइरहेका २७० जना शिक्षकलाई माघ ३ गतेदेखि माघ ७ गतेसम्म तालिम सञ्चालन हुनेछ । एकीकृत पाठ्यक्रम तथा निर्माणात्मक मूल्याङ्कन यस समूहका शिक्षकलाई प्रदान गरिन लागेको महानगरले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !