२७ पुस २०८१, शनिबार

उपभोक्ताको हित संरक्षण गर्न व्यवसायी इमानदार र उपभोक्ता सचेत हुनुपर्छ– मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  11 January, 2025 1:29 pm


रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपभोक्ताको हित संरक्षण गर्न व्यवसायीले इमानदारीता देखाउनुपर्ने र उपभोक्ता सचेत हुनुपर्ने बताएका छन् ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालले शनिबार बुटवलमा आयोजना गरेको व्यवसाय र उपभोक्ताको मानव अधिकार सम्बन्धि सक्षमता अभिवृद्धि कार्यक्रमलाई उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उपभोक्ताको हित संरक्षण गर्न व्यवसायीले ईमानदारीता देखाउनैपर्ने बताएका हुन् ।

प्रदेश सरकारले अनुगमनलाई तिब्रता दिन प्रदेशस्तरीय संयन्त्र निर्माण गरिने समेत बताए । ‘‘चाडपर्वको बेलामा मात्रै होइन, १२ महिना, ३६५ दिननै अनुगमन र निगरानी हुने व्यवस्था गरिनुपर्छ’’, मुख्यमन्त्री आचार्यले भने, ‘‘प्रदेश तहबाट पनि एउटा अनुगमन संयन्त्र बनाउँछौं ।’’

बजारमा हुने अनुचित व्यापारलाई निरुत्साहित गर्न उपभोक्ता अधिकार संरक्षणलाई बलियो बनाउनुपर्ने बताए । अखाद्य वस्तुको उपभोगका कारण नागरिकको स्वास्थ्यमा नराम्रो असर परिरहेको, नसर्ने तर दीर्घरोगबाट पीडित हुनुपर्ने अवस्था रहेको भन्दै मुख्यमन्त्री आचार्यले अखाद्य वस्तुको कारोबारलाई निरुत्साहित बनाउनुपर्ने बताए ।

‘‘उपभोक्ताको हितसँग जस्ले खेलवाड गर्छ । म्याद गुज्रेका, अखाद्य वस्तु उत्पादन तथा बिक्रि बितरण गर्छ । त्यसलाई कानुनी दायरामा ल्याउन अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ’’, उनले भने, ‘‘यसका लागि तीन तहकै सरकारको संयन्त्र परिचालन हुनुपर्छ । नागरिक तह, उपभोक्ताको क्षेत्रबाट पनि निगरानी र खबरदारी भइरहनुपर्छ ।’’

उपभोक्ताको अधिकार सुनिश्चित गर्न सशक्त कानुनी संरचना निर्माण, सचेतना अभियानहरु तिब्र पारिनुपर्ने, गुणस्तरीय परिक्षण र नियमनको कामलाई प्रभावकारी रुपमा अघि बढाइने समेत बताए ।

उपभोक्ताको हित संग खेलवाड गरी अनुचित व्यापार गर्नेलाई कानुनी रुपमा दण्डित गर्ने र उत्कृष्ट सेवा तथा गुणस्तरीय उत्पादन दिने व्यवसायीलाई प्रोत्साहन गर्न जरुरी रहको पनि बताए ।

प्रदेश सरकारले सुधारका कामहरुलाई अघि बढाएको र त्यसमा नागरिक सहभागिता बढ्नुपर्ने बताए । सामाजिक सुधारका काममा सरकारले सफलता हासिल गरेको भन्दै मुख्यमन्त्री आचार्यले प्रदेश तहमा देखिएका कुपोषण जस्ता समस्यालाई न्यूनीकरण गर्न विशेष पोषण कार्यक्रम सञ्चालन गरिएको समेत बताए ।



प्रतिक्रिया दिनुहोस !