सकारात्मक सोच नै सफलताको मार्ग हो–मुख्यमन्त्री आचार्य
भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक सोचले नै युवाहरुलाई चुनौतीहरुसँग जुध्न र सफलताका लागि अघि बढ्न प्रेरित गर्ने बताएका छन् ।
लियो क्लवले आयोजना गरेको दोस्रो काउन्सिल बैठकलाई भैरहवामा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले हरेक क्षेत्रमा युवाहरु सकारत्मक दृष्टिकोणका साथ अघि बढ्न सक्दा सफलता प्राप्त हुने बताए ।
‘‘तपाई जहाँ लाग्नुहुन्छ, निष्ठापूर्वक, इमानदारीताका साथ लाग्नुस् । दृढ संकल्प लिनुस सफलता प्राप्त सहजै हुन्छ’’, उनले भने, ‘‘लोभ गर्ने, अहंकार पाल्ने हो, भने सफलता प्राप्त हुँदैन । आजको भोलि कुनै चिजको परिणाम प्राप्त हँुदैन । तर, निरन्तर लागेपछि अवस्य सुखद् परिणाम प्राप्त हुन्छ ।’’
युवाहरुलाई स्वदेशमा उद्यमशीलता र स्वरोजगारको अवसर सृजना गर्न सरकारले प्राथमिकतामा राखेको बताउँदै अवसरहरुको खोजी स्वदेशमै गर्न आह्वान गरे । ‘‘युवाहरुको साथमा सरकार छ । यहाँहरुलाई उद्यमशीलता र रोजगारी सुनिश्चित गर्ने योजना सरकारले बनाएको छ’’, उनले भने, ‘‘लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, उद्योगको प्रचुर सम्भावना छ । यही केही गर्न सकिन्छ ।’’
हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्नेगरी क्रियासिल हुन युवाहरुमा आग्रह गरे । ‘‘तपाई जुन क्षेत्रमा लाग्नुहुन्छ, त्यहाँ राम्रो गर्नुस्, श्रेष्ठता हासिल गर्नुस्’’, उनले भने, ‘‘गरे के हँुदैन । सबै सम्भव छ । यसलाई उदाहरणमा बदल्न जरुरी छ ।’’
प्रदेश सरकारले युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउँदै स्वरोजगारका क्षेत्रमा अघि बढ्न आग्रह गरे । ‘‘हाम्रो प्रदेश प्राकृतिक रुपमा सम्भावनानै सम्भावना भएको प्रदेश हो । यहाँ हिमाल छ । पहाड छ । तराई छ । भित्री मधेस छ । गौतमबुद्धको जन्मस्थल यही छ’’, उनले भने, ‘‘विश्व जगतलाई नै आकर्षित गर्ने सम्भावना र स्रोत हाम्रै प्रदेशमा छ ।’’
विदेशमा रहेका युवाहरुलाई पनि स्वदेशमा आकर्षित गर्नेगरी युवाहरुले रचनात्मक काम गर्न जरुरी रहेको धारणा मुख्यन्त्री आचार्यको छ । मुख्यमन्त्री आचार्यले आफ्नो संघर्षशील जीवनको बारेमा समेत युवाहरु माझ प्रकाश पारे । शिक्षालाई अघि बढाउदाको संघर्ष, पार्टी निर्माण गर्दा र स्वास्थ्य समस्यासँग जुध्दाको उताडचडावको बेलामा पनि हिम्मत नहारेर अघि बढ्दाको स्मरण समेत गरे ।
‘‘म मरेर बाँचेको मान्छे हुँ । क्यान्सर जस्ता थुप्रै रोगसँग जुधे । तर, हिम्मत हारिनँ । अहिले म तपाईहरुको माझ यसरी उपस्थित हुन पाएको छु’’, उनले भने, ‘‘पवित्र मनले गर्ने हरेक कामहरु सफल हुन्छन् । जीवनसँग हार्ने होइन, हिम्मतका साथ अघि बढ्न सक्नुपर्छ ।’’