लिगलिगकोट बिर्साइदिने प्रथम छिल्लीकोट दौड
तुलसीपुर । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान सुरु गर्नुभन्दा पहिले राजा छान्न लिगलिगकोटमा दौड प्रतियोगिता गरिन्थ्यो । सो ऐतिहासिक परम्परालाई स्मरण गर्दै राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडानम्वर–१९ छिल्लीकोट दौड आयोजना गरिएको छ ।
नेपाली सेना १९ बाहिनीको समन्वयमा तुलसीपुर उपमहानगरपालिका र रणसिंह दल गणको संयुक्त आयोजनामा छिल्लीकोट दौड सम्पन्न भएको हो । तुलसीपुर–१८ दूधरासदेखि छिल्लीकोटसम्मको १२ किलोमिटर दूरीको यो दौड प्रतियोगितामा रामजी बस्नेत प्रथम भएका छन् । बस्नेतले प्रमाणपत्रसहित रु. २० हजार प्राप्त गरेका छन् ।
प्रतियोगितामा विशालकुमार महत दोस्रो भई १५ हजार तथा एकेन्द्र कार्कीले तेस्रो भई १० हजार पुरस्कार पाएका छन् । खगिसरा रावललाई सान्त्वना पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
उक्त अवसरमा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले छिल्लीकोटको ऐतिहासिक महत्व औंल्याउँदै यसको दरबार क्षेत्र उत्खनन् गरिनुपर्ने बताए ।
उनले छिल्लीकोट क्षेत्रलाई पर्यटन प्रवद्र्धनका लागि साहसिक खेलकुद जिपलाइन, होमस्टे, खानेपानी, विद्युत् र सडक पूर्वाधार निर्माणको चरणमा रहेको जानकारी दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले दौडले खेलाडीहरूमा उत्साह थप्नुका साथै छिल्लीकोटको प्रचार–प्रसारमा समेत योगदान पुगेको बताए । वडानम्वर–१९ का अध्यक्ष प्रेमनाथ योगीले राष्ट्रिय एकता दिवसले छिल्लीकोटको ऐतिहासिक पक्षलाई उजागर गर्ने अवसर दिलाएको धारणा राखे ।
छिल्लीकोटको इतिहास वि.सं. १५५० मा मेघनाथ शाहले शासन गर्न थालेपछि सुरु भएको मानिन्छ । छिल्लीकोटका अन्तिम राजा वीरभद्र शाह थिए । यो राज्यले वि.सं. १५५० देखि १८४३ सम्म करिब २९३ वर्ष शासन गरेको तथ्य छ ।
वि.सं. १८४३ सालको कार्तिक १९ गते दामोदर पाण्डे, जगतजित पाण्डे, सरदार प्रबल राणा, र सुब्बा फौदसिंह खत्रीको नेतृत्वमा छिल्लीकोट राज्य बिना युद्ध नेपालमा गाभिएको थियो ।
ऐतिहासिक महत्वका साथै पर्यटन प्रवद्र्धनका लागि छिल्लीकोटलाई नयाँ गन्तव्यको रूपमा विकास गर्नुपर्ने सुझाव कार्यक्रममा सहभागीहरूले दिएका छन् । छिल्लीकोट दौड जस्ता गतिविधिहरूले यो क्षेत्रको सांस्कृतिक र ऐतिहासिक पक्षलाई उजागर गर्दै राष्ट्रिय एकता र पहिचानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ ।