मौसम अपडेट : तराईमा हुस्सु, उच्च पहाडमा हल्का हिमपातको सम्भावना
काठमाडौँ । देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेकाले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।
विभागका अनुसार तराईका केही क्षेत्रमा बाक्लो हुस्सुले छोपिएको छ, भने अन्य भागहरूमा मौसम सफा रहने छ । दिउँसो अधिकांश स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिमका केही क्षेत्र, साथै लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ । साथै, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।
राति कोशी, मधेस, बागमती र अन्य पहाडी क्षेत्रमा सामान्य बदली रहँदा बाँकी स्थानमा आंशिक बदलीको अवस्था रहनेछ । कोशी, बागमती र गण्डकीका थोरै स्थान तथा अन्य भूभागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान छ ।
हिमपात हुने स्थानहरूमा जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन र हवाई उडानमा असर पर्न सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।