२८ पुस २०८१, आइतबार

राष्ट्र बैंककाे बैंकहरूलाई निर्देशन-राष्ट्रिय परिचयपत्रकै आधारमा खाता खोलिदिनू

प्रकाशित मिति :  12 January, 2025 8:14 am


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रिय परिचयपत्रको आधारमा सहज रूपमा खाता खोल्ने व्यवस्था सुनिश्चित गर्न पुनः आग्रह गरेको छ।

यसअघि नै एकीकृत निर्देशनमार्फत यस्तो सुविधा कार्यान्वयन गर्न निर्देशन दिइसकेको भए पनि थप स्पष्टताका लागि सार्वजनिक सूचना जारी गरिएको हो।

राष्ट्रिय परिचयपत्र प्राप्त गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सबै जिल्ला प्रशासन कार्यालयहरूमा सेवा उपलब्ध गराएको छ। काठमाडौँ उपत्यकामा विशेषगरी अस्थायी शिविरहरूको माध्यमबाट पनि परिचयपत्र वितरण भइरहेको छ, जसले नागरिकहरूको पहुँचलाई अझ सहज बनाएको छ।

यसका साथै, विभागले आफ्नो पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बर तथा आवेदनको स्थितिबारे जानकारी लिन सकिने व्यवस्था पनि गरेको छ। बैंकहरूले ग्राहकलाई सहजीकरण गर्न पोर्टलबाट परिचयपत्र नम्बर पत्ता लगाई खाता खोल्ने प्रकृयामा सहयोग पुर्याउन राष्ट्र बैंकले स्पष्ट निर्देशन दिएको छ।

नागरिकलाई वित्तीय पहुँचमा समावेश गर्न र बैंकिङ सेवालाई थप सरल बनाउन यो कदम महत्वपूर्ण हुने राष्ट्र बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !