संसद नचल्दा अध्यादेश ल्याउन मिल्छ, संसदको अधिकार कटौति गरेको होइनः उपमहासचिव ज्ञवाली
काठमाडाैँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदको अधिवेशन नचलिरहेको बेलामा सरकारले अध्यादेश ल्याउनसक्ने बताएका छन्।
आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरूको व्यवस्था गरेको उल्लेख गर्दै अधिवेशन सुचारु नभएको बेलामा अध्यादेश ल्याउनसक्ने बताएका हुन् । उनले अध्यादेश ल्याउने कुरालाई संसदको अधिकार कटौति गरेको भनेर बुझ्न नहुने स्पष्ट पारे ।
उनले सदनको पहिलो बैठकमै अध्यादेशहरु पेश हुने र पारित नभए स्वतः निष्क्रिय हुने बताए । उनले कानून बनाउन पाँच वर्षसम्म लाग्ने स्थिति रहेको बेलामा र संसद पनि नचलेको समयमा अध्यादेश ल्याएको कुरालाई संसदको अवज्ञा भन्न नहुने बताए । अध्यादेश संसदलाई अवज्ञा गर्नेगरी नभइ आवश्यकताको महशुस गरेर ल्याइएको बताए । उपमहासचिव ज्ञवालीले दलहरुमाथि हुने प्रहारले लोकतन्त्रलाई कमजोर बनाउने बताए ।