२८ पुस २०८१, आइतबार

हल्ट प्राइज एट शंकरदेव क्याम्पसको सहकार्यमा काठमाडौँ ट्रयास कलेक्सन् रेस २०२५ सम्पन्न

प्रकाशित मिति :  12 January, 2025 1:33 pm


काठमाडौँ । मैनादेवी फाउन्डेसन, रुटिन अफ नेपाल बन्द, र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा तथा हल्ट प्राइज एट शंकरदेव क्याम्पसको सहकार्यमा काठमाडौँ ट्रयास कलेक्सन् रेस २०२५ सफलतापूर्वक सम्पन्न भएको छ। पौष २७ गते शनिबार काठमाडौँको तिनकुनेस्थित मैदानबाट सुरु भएको यो रेसले फोहोर व्यवस्थापन र वातावरणीय सचेतना फैलाउने महत्त्वपूर्ण सन्देश दिएको छ।

कार्यक्रममा करिब १ हजार ९०२ सहभागीको उपस्थिति रहेको थियो। सहभागीहरूले तिनकुने मैदानबाट बानेश्वर, बिजुलीबजार, माइतीघर हुँदै पुनस् तिनकुने फर्कने ३.५ किलोमिटर दूरीमा दौडदै फोहोर सङ्कलन गरे। फोहोर सङ्कलनको आधारमा विजेताहरू चयन गरिएका थिए।

यस रेसमा सहभागीहरूले १०८ किलो फोहोर सङ्कलन गरेका थिए, जसले समाजमा जथाभावी फोहोर नगर्न र फाल्नु अघि सोच्नुपर्ने सन्देश प्रवाह गरेका आयोजकले जनाएको छ । १ घण्टाको समयमा सबैभन्दा छिटो र धेरै फोहोर सङ्कलन गर्नेलाई नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमका विजेताहरूलाई क्रमशः ५०,०००, २५,०००, १५,००० र ५,००० रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। हल्ट प्राइज एट शंकरदेव क्याम्पसकी क्याम्पस निर्देशक सृष्टि न्यौपानेले विजेताहरुलाई सम्मान गर्दै माया चिनो प्रदान गरेकी थिइन् ।

बढ्दो शहरीकरण र वातावरणीय प्रदूषणबारे जनचेतना फैलाउन यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको छ। कार्यक्रममा विद्यार्थी, पत्रकार, कलाकार, र सुरक्षाकर्मीहरूको सक्रिय उपस्थिति रह्यो। आयोजनालाई व्यवस्थित बनाउन हल्ट प्राइज एट शंकरदेव क्याम्पसका सदस्यहरूले योगदान गरेका थिए।

रेसले वातावरण संरक्षण र फोहोर व्यवस्थापनका लागि नागरिक जिम्मेवारीबोध जगाउने महत्वपूर्ण सन्देश प्रवाह गरेको छ। यो रेस हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको छ।



प्रतिक्रिया दिनुहोस !