२८ पुस २०८१, आइतबार

चन्द्रागिरीमा मोबाइल फुड ल्याबबाट डेरी र तेल उद्योगको अनुगमन, ६०० लिटर दूध नष्ट

प्रकाशित मिति :  12 January, 2025 5:26 pm


काठमाडाैँ । चन्द्रागिरी नगरपालिका क्षेत्रमा रहेका डेरी र तेल उद्योगहरूको खाद्य सुरक्षा सुनिश्चित गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल फुड ल्याब भ्यान सञ्चालन गरेको छ। चन्द्रागिरी नगरपालिकाको सहकार्यमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नगर प्रहरी, र नगरपालिकाका प्रतिनिधिहरूको सहभागितामा पुस २६ गते निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमअन्तर्गत एक डेरी र तीन तेल उद्योगहरूको निरीक्षण गरिएको थियो। अनुगमनको क्रममा दूधका २ र तेलका ५ गरी जम्मा ७ वटा नमूना संकलन गरी मोबाइल फुड ल्याब भ्यानमार्फत परीक्षण गरिएको छ।

ह्वाइट हिमालयन मिल्क प्रा.लि., चन्द्रागिरी वडा नम्बर १२ मा अस्वाभाविक गन्ध र धूसी लागेको अवस्थामा १० किलो नौनी, १५ किलो घ्यू, र ३५ किलो पनिर नष्ट गरिएको छ। त्यस्तै, सोही उद्योगमा परीक्षण गर्दा खुलेको दूधमा न्युटलाइजर भेटिएकोले करिब ६०० लिटर दूध नष्ट गरिएको छ।

खाद्य सुरक्षाको उल्लङ्घन गर्ने उद्योगहरूलाई कारबाही गरिने जनाउँदै सम्बन्धित निकायले उपभोक्ताहरूलाई सुरक्षित र गुणस्तरीय खाद्य वस्तु उपभोग गर्न सचेत गराएका छन्।



प्रतिक्रिया दिनुहोस !