पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रतकथा आजदेखि सुरु
काठमाडौँ । आजदेखि स्वस्थानी वर्तकथा प्रारम्भ भएकाे छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिनाभर विभिन्न शक्तिपीठहरूमा पूजा आराधना गरी मनाइने स्वस्थानी वर्तकथा प्रारम्भ भएकाे हाे ।
आजदेखि विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत, र कथा वाचन सुरु गरी भक्तजनहरूले आफ्नो आध्यात्मिक यात्रा आरम्भ गरेका छन्। स्वस्थानी व्रत बस्नेहरूमा धेरैजसो महिलाहरू छन्। अमेरिकाको इलिनोय विश्वविद्यालयमा धर्म विषयको उपप्राध्यापक र यस विषयमा विद्यावारिधि गरेकी जेसिका भेन्तिन बिर्केनहोल्जका अनुसार, यो परम्परा दक्षिण एसियाका अन्य देशमा देखिँदैन। यसले नेपालको धार्मिक, सांस्कृतिक परम्परालाई थप विशिष्ट बनाएको छ।
पौष शुक्ल चतुर्दशीको दिन हात-गोडाका नङ काटी स्नान गरेर शुद्ध वस्त्र पहिरिएपछि व्रत सुरु हुन्छ। बिहान माघ स्नानपछि मध्यान्हकालमा महादेवको पूजा गरी, बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कथा सुन्ने प्रचलन छ।
महिनाभर व्रत बसेर माघ शुक्ल पूर्णिमाका दिन भगवतीलाई १०८ प्रकारका सामग्री अर्पण गर्दै व्रत समाप्त गरिन्छ। व्रतले बिछोड भएका जोडीको पुनर्मिलन, रोग-व्याधि नाश, र इच्छित वर वा वधू प्राप्त हुने विश्वास छ। सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति पाउन स्वस्थानी व्रत गरेपछि महादेवले प्रसन्न भई उनलाई स्वीकारेको कथा यस व्रतकथामा समावेश छ।
धर्मशास्त्रअनुसार स्वस्थानी देवी सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा विराजमान चार हातकी देवी हुन्। स्वस्थान अर्थात् आत्मसंयोग अभ्यासलाई स्वस्थानी भनिएको विश्वास छ। धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईका अनुसार, विधिपूर्वक व्रत गरेमा मनोकामना पूरा हुने विश्वास छ।
स्वस्थानी व्रतकथाको अवसरमा उपत्यकाको पूर्वी भेगमा पर्ने साँखुको शालीनदीमा एक महिनासम्म माघ स्नानसहित माधवनारायणको मेला लाग्दछ। यस मेलामा सहभागी भई स्नान गरेमा पाप पखालिने र पुण्य प्राप्त हुने धार्मिक मान्यता छ। इतिहासकार प्रकाश श्रेष्ठका अनुसार, यो मेला साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक, र पर्यटकीय महत्वलाई झल्काउँछ।
शालीनदीमा लाग्ने मेलाको सबै तयारी पूरा भएको मेला व्यवस्थापन समितिले जनाएको छ। प्रत्येक वर्ष लाखौँ भक्तजनहरूले यो मेलामा सहभागिता जनाउँदै धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्वको संरक्षणमा योगदान पुर्याउँदै आएका छन्।
स्वस्थानी व्रतको धार्मिक एवं सांस्कृतिक महत्त्वले नेपाली समाजमा परम्पराको निरन्तरतासँगै अध्यात्मको गहिरो झल्को दिन्छ। यसले सामाजिक, धार्मिक, र सांस्कृतिक पहिचानलाई जीवन्त राख्न सघाएको छ।