२९ पुस २०८१, सोमबार

अपाङ्गता भएका व्यक्तिहरूको पहुँच अभिवृद्धि गर्नुपर्नेमा मन्त्री दाहालको जोड

प्रकाशित मिति :  13 January, 2025 12:45 pm


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सार्वजनिक सेवामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय शारीरिक अपाङ्ग संघले सोमबार काठमाडौँमा गरेको सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच अभिवृद्धि विषयको राष्ट्रिय कार्यशालालाई सम्बाेधन गर्दै उनले सार्वजनिक यातायातमा समेत अपाङ्गता भएकाहरुको पहुँच बढाउन जरुरी रहेको बताएका हुन् ।

अब बन्ने सडक तथा संरचनालाई अपांगतामैत्री बनाउन सरकारले ध्यान दिएको भन्दै उनले अपाङ्गतामैत्री संरचना र संरचनामैत्री सवारी साधनहरूको उपयोग आवश्यक रहेको बताए । यस्तै अहिले निर्माणाधिन र निर्माण हुने सडक एवम् संरचनाहरूलाई सुरक्षित तथा दिगो बनाउन मन्त्रालयले प्राथमिकता दिएको भन्दै उनले भने,”हामीले पूर्वाधार निर्माणमा मात्र जोड दिएका छैनौं, सुरक्षित पूर्वाधारमा जोड दिएका छौं । सडक एवम् सवारी दुर्घटना मार्फत हुने अपाङ्गता न्युनिकरणका लागि हामी प्रतिवद्ध छौं ।”

सडक तथा सवारी दुर्घटना समेत अपाङ्ता सिर्जना हुने जोखिमको क्षेत्र भएकाले यसलाई सुरक्षित बनाउन सवै पक्षको सहकार्यको आवश्यकतामा उनले जोड दिए । मन्त्री दाहालले सार्वजनिक सवारी साधनमा अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिन भन्दै उनीहरूलाई सुनिश्चित गरिएको सुविधा एवम् छुटबाट बञ्चित नगराउन समेत यातायात व्यवसायी एवम् मजदुरहरूलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सवै सवारी साधनहरूमा अपाङ्गतामैत्री व्यभारका लागि मजदुर एवम् व्यवसायीहरुलाई अभिमुखीकरण समेत गर्ने गरिएको बताए । नयाँ सवारी साधनहरु आयात गर्दा सरकारले प्रोत्साहन गरे अपाङ्गतामैत्री सवारी साधनहरु भित्राउन सकिने बताए । तर नेपाली सडक तथा संरचनाहरुलाई समेत अपाङ्गता मैत्री बनाउनु पर्नेमा उनको जाड थियो ।

राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष देवीदत्त आचार्य, साझा यातायातका अध्यक्ष कनकमणि दिक्षित, आयोजक संस्थाका पूर्व अध्यक्ष किरण शिल्पकार, विभिन्न मजदुर संगठनका प्रतिनिधी लगायतले सार्वजनिक सवारी साधनमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच अभिवृद्धीका लागि अपाङ्गतामैत्री संरचनाहरुको खाँचो रहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !