अब कुनैपनि नागरिकले खाद्य अभाव झेल्नुपर्दैनः उद्योगमन्त्री भण्डारी
काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अब कुनैपनि नागरिकले खाद्य अभाव झेल्नु नपर्ने बताएका छन्
सोमवार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले खाद्य संप्रुभुत्ता नागरिकको संवैधानिक अधिकार भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्ने जिम्मा सरकारले लिएको बताए ।
उनले सरकारले खाद्यान्न ढुवानीमा अनुदान दिँदै आएको बताए । उनले देशभरका नागरिकको सहज र सस्तो मूल्यमा खाद्यान्न प्राप्त गर्न सकुन् भनेर समय समयमा अनुदान दिँदै आएको बताए । उनले सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तु उपभोग गर्ने कार्यविधिलाई पास गरेको उल्लेख गर्दै अब सरकारी कार्यालयहरुमा नेपाली कागजको प्रयोग नगरे बेरुजु आउने स्पष्ट पारे । उनले सार्वजनिक निकायमा स्वदेशी वस्तुको मात्र उपभोग गर्ने कार्यविधिलाई कडाईका साथ पालना गनुपर्ने बताए ।
“संविधानप्रदत्त अधिकार आज आम नेपालीहरुले खाद्य अभावमा बाच्न नपरोस् । खाद्य संप्रुभुत्ता संवैधानिक अधिकार हो । त्यसलाई पूरा गर्ने परिभाषित जिम्मा सरकारले लिएको छ । सरकारले खाद्यान्न ढुवानीमा केही अनुदान दिएको छ । चाडपर्वलक्षित सहुलियत मूल्यमा अनुदान दिएको छ । दुर्गम भुगोलमा पनि अनुदान दिँदै आएको छ । अब हामी द्वन्द्ववादबाट हेर्ने हो भने हरेक चुनौतिसँग सम्भावना र सम्भावनाबाट चुनौति हुन्छ । हामीले दुर्गममा सेवा गरिरहेका छौं भन्ने पनि छ तर त्यस दुर्गममा सम्भावना पनि छ,” उनले भने ।
उनले विदेशी वस्तुको आयात प्रतिस्थापन गर्दै स्वदेशी वस्तुको उपभोगमा जोड दिनुपर्ने बताए ।