दाङको रिहार मेलामा बिहानैदेखि श्रद्धालुकाे घुइँचो
दाङ । माघे संक्रान्तिको अवसरमा दाङ देउखुरीको रिहारमा लागेको मेलाले धार्मिक आस्था र पर्यटन प्रवर्द्धनको उदाहरण प्रस्तुत गरेको छ। माघ १ गतेदेखि बगरबाबा धार्मिक पर्यटकीय क्षेत्र रिहारमा श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ।
रिहारमा रहेका तातोपानी कुण्डको विशेष महत्व छ। स्थानीयहरूका अनुसार नुनिलो स्वादको यो तातोपानीमा स्नान गर्दा रोग नलाग्ने विश्वास छ।
बिहानैदेखि भक्तजनहरूले कुण्डमा नुहाउने र पूजापाठ गर्ने क्रम जारी छ। यसपछि बगरबाबा मन्दिरमा पूजा गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार, यहाँ पूजा गर्दा मनोकांक्षा पूरा हुने, निःसन्तानले सन्तान प्राप्त गर्ने र रोगव्याध टर्ने विश्वास गरिन्छ।
नेपाल सरकारले बगरबाबा धार्मिक क्षेत्रलाई एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ। धार्मिक र ऐतिहासिक महत्त्व बोकेको यो स्थल विशेषगरी अवधीभाषी यादव समुदाय र थारु समुदायका लागि पवित्र मानिन्छ।
बगरबाबा धार्मिक स्थलको उत्पत्तिलाई द्वापरयुगसँग जोडिएको बताइन्छ। किंवदन्तीअनुसार, द्वापरयुगमा ऋषिमुनिहरूले यहाँ तपस्या गरेकाले ‘ऋषि विहार’ बाट ‘रिहार’ नामको अपभ्रंश भएको हो।
पूर्वपश्चिम राजमार्गसँग जोडिएको रिहार लमही बजारबाट २० किलोमिटर पश्चिममा अवस्थित छ। माघे संक्रान्तिमा यहाँ एक हप्तासम्म मेला लाग्ने परम्परा छ।
धार्मिक आस्था, ऐतिहासिक महत्त्व, र पर्यटकीय सम्भावनाका कारण रिहार दाङ क्षेत्रको महत्वपूर्ण गन्तव्यको रूपमा चिनिएको छ।
मेलाको माध्यमबाट स्थानीय संस्कृति, धार्मिक परम्परा, र पर्यटनलाई थप प्रवर्द्धन गर्ने अवसर मिलेको छ। रिहार मेला केवल धार्मिक आस्थाको केन्द्रमात्र नभई पर्यटकीय आकर्षणको स्थलका रूपमा पनि विकसित हुँदै गइरहेको छ।