स्वास्थ्यका लागि हात मिलाउन छोडौं, नमस्कारलाई अङ्गालौं !
नेपालमा धेरै प्रचलनमा रहेको हात मिलाउने अभ्यास स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण छ भन्ने कुरा सबैले मनन गर्न र टाढैबाट श्रद्धापूर्वक नमस्कारको अभ्यासलाइ स्थापित गर्न जरुरी भैसकेको छ ।
विभिन्न सर्वेक्षणहरूका अनुसार ३१ देखि ४३ प्रतिशत पुरुषहरूले मात्र शौचालय गएर पिसाब फेरिसकेपछि हात धुन्छन् । यद्यपि दिसा धोएपछि भने ८० प्रतिशत पुरुषहरूले हात धुन्छन् भने महिलाहरूको हात धुने दर ८३ प्रतिशत रहेको छ । के गरेपछि हात फोहर हुन्छ र धुनु पर्दछ भन्ने कुरा अधिकांश मानिसहरूलाई थाहा छ तर धेरै प्रतिशतले व्यवहारमा उतार्दैनन भन्ने कुरा तथ्याङ्कहरूले पनि प्रष्ट पार्दछ ।
मानिसहरूले हातको सफाइलाई ध्यान नदिने गर्ने कारण चाँहि विभिन्न गतिविधिहरूलाई फोहर मान्ने प्रवृत्ति पनि छैन जस्तै नाक कोट्याउने‚ हाच्छिउँ गर्दा हातले मुख छोप्ने‚ अनुहार मुसार्ने‚ आँखा छुने साथै आंशु पुछ्ने‚ सिंगान फाल्ने‚ सुर्ति खाने तथा फाल्ने‚ मुखमा औंला हाल्ने तथा दाँत छुने‚ पैसा गन्ने‚सार्वजनिक स्थानमा भएका रेलिङहरू छुँदै हिड्ने र मोबाल चलाउने आदि । यस्ता कार्य गरेपछि धेरै जसो मानिसहरूले हात सफा हुने गरि धुदैँनन् जसले गर्दा हात फोहर नै हुन्छ ।
हामीलाई प्राय लाग्छ हाम्रो हात सफा छ र जतिबेलापनि भन्ने गरिन्छ: आफ्नै हात त हो । हात फोहरसँग सबैभन्दा बढी नजिक भैरहने मानिसको अङ्ग हो । हरेक काम गर्दा यो जति प्रयोग हुन्छ त्यतिनै फोहर सँगको सम्पर्क हुन्छ र विभिन्न रसायन, व्याक्टेरिया, भाइरस, प्रोटोजोवा, फंगस लगायत शरिरका लागि हानिकारक किटाणु तथा पदार्थहरूसँग सम्पर्क हुन्छ ।
विभिन्न अध्ययन र स्वास्थ्य तथा सरसफाइ सम्बन्धी अनुसन्धानका अनुसार मानिसको हत्केलामा १० हजार देखि १ करोडसम्म ब्याक्टेरिया अटाउन सक्छन् साथै भाइरसहरू झन त्यो भन्दा धेरै अटाउन सक्दछन र सबैभन्दा बढी त नङ्गकाे भित्र र औंलाको कापमा ब्याक्टरिया तथा भाइरस बाक्लो रूपमा बसेका हुन्छन ।
हातमा भेटिने ब्याक्टेरिया मध्य १५० थरिका सम्म हुन सक्छन । सुक्खा हातको तुलनामा ओसिलो वा चिसो हातहरूले किटाणु तथा जीवाणु र विषाणुहरू अरूलाई सार्न मद्दत पुर्याउँछ । विभिन्न रोगहरू एकबाट अर्कोमा सार्न हात प्रमुख माध्यम हो ।
सामान्य खालका सङ्क्रमण मध्य ८० प्रतिशत सङक्रमण हातबाट सर्ने अध्ययनहरूले देखाएका छन् ।
फोहर हात, फोहर खाना र फोहर पानीका कारणले मानिसमा अधिकांश सरुवा रोगहरू लाग्ने गरेको अध्ययनहरूले देखाएका छन् ।
हात मिलाउँदा यस्ता धेरै जोखिमहरू बढ्दै जान्छ किनकि हात मिलाइसकेपछि तत्काल हात धुने सम्भावना पनि हुँदैन र हामी अधिकांशको बानी पनि छैन ।
हाम्रै हात अरू मानिसहरूबाट आफैँलाई रोग सार्ने गतिलो माध्यम बनेको छ ।
अस्पतालका स्वास्थ्यकर्मीहरू जसरी संवेदनशील भएर बिरामीको सेवा गर्दा सधैं हात सफा राखे जसरी हाम्रो हात सफा राख्न पनि हाम्रो आनीबानी हेर्दा असम्भव प्राय नै देखिन्छ ।
पूर्वीय र वैदिक सनातनी अभ्यास अनुसार मानिसहरू भेट हुँदा श्रद्धापुर्वक नमस्कार गर्ने गरिन्छ, हात मिलाउने काम गरिदैँन । स्वास्थ्य तथा सरसफाइका दृष्टिले हेर्दा त्यो नै व्यवहारिक र वैज्ञानिक देखिन्छ ।
कोरोनाकालमा मानिसहरू जवर्जस्त रूपमा मानिसको नजिक जाने र हात मिलाउने अभ्यास त्यागेका थिए तर कोरोनाको संक्रमणकाल सकिएपछि भने हात मिलाउने कामले निरन्तरता पाएको छ ।
हातको सरसफाइमा ध्यान दिएमा पनि धेरै सरुवारोगहरूबाट बच्न सकिन्छ; सफा खाना र सफा पानी सेवन गरे मानिस स्वस्थ रहन्छ ।
साबुनपानीले कम्तिमा एक मिनेटसम्म मिचिमिची हात धुदाँ हात सफा हुन्छ । स्यानिटाइजरको प्रयोगले पनि हात सफा राख्न सकिन्छ ।
यो कुरा सबैजसोलाइ थाहा छ तर व्यवहारमा प्रयोग हुँदैन र हात नजानिकन जोखिमपूर्ण र फोहरी बन्दै जान्छ। त्यै अदृष्य जोखिम बाेकेको हात मिलाउन मानिस परैबाट तम्सिदै आउँछ । हात मिलाउँछ, रोग साटासाट गर्छ र आनन्द मान्छ ।
हात नमिलाउने अभ्यास नै राम्रो हो भन्नेमा अधिकांश मानिसहरू सहमत छन् । तर हात नमिलाउँदा ठूलो पल्टिएको भन्ने हुनाले कुरैले पनि हात मिलाउनु परेको दुखेसो धेरै जनाले पोखेको पाइन्छ ।
हात मिलाउने कार्यलाइ स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण मानेर सबैजनाले आजैबाट व्यवहार परिवर्तन गरि नमस्कार गर्ने बानीलाइ मात्र स्थापित गर्नु आवश्यक देखिन्छ । एक आपसमा हात मिलाउने बानी आजैदेखि त्याग्ने की ?