विपिन जोशीको रिहाइका लागि कूटनीतिक प्रयास जारी, कतार सरकारबाट सकारात्मक प्रतिक्रिया
काठमाडौँ । हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ। यही क्रममा परराष्ट्रमन्त्री आरजु राणाले आज बिहान कतारका विदेश राज्यमन्त्री डा.मोहम्मद बिन अब्दुलाजिज अल-खुलाइफीसँग फोनवार्ता गरेकी छिन्।
डा.खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका प्रमुख वार्ताकार र मध्यस्थकर्ता हुन्। फोनवार्तामा परराष्ट्रमन्त्री राणाले विपिन जोशीको शीघ्र रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी छिन्।
हमासले आफ्नो नियन्त्रणमा रहेका केही बन्दीहरूलाई मुक्त गर्ने तयारी गरिरहेको समाचारहरू आएपछि, हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरूसँग नेपाल सरकारले थप पहल गरिदिन अपिल गरिरहेको छ।
मन्त्री राणासँगको वार्तामा डा.खुलाइफीले कतार सरकारले हमासलाई युद्धविरामका लागि सहमत गराउँदै बन्दीहरूलाई मुक्त गर्न पहल गरिरहेको जानकारी दिएका छन्। उनले यस सम्बन्धमा चाँडै सकारात्मक समाचार आउने विश्वास व्यक्त गरे ।परराष्ट्रमन्त्री राणाले आफ्नो आधिकारिक फेसबुकमा यो जानकारी साझा गर्दै विपिनको रिहाइका लागि सरकार आशावादी रहेको उल्लेख गरेकी छिन्।