अपहरण तथा शरीर बन्धक मुद्दाका फरार आरोपी कोईरी पक्राउ
प्रकाशित मिति : 14 January, 2025 4:33 pm
काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीले अपहरण तथा शारीरिक बन्धक मुद्दामा फरार अभियुक्त सुधिर कुमार कोईरीलाई पक्राउ गरेको छ।
भारतको बिहार राज्य, सितामढी जिल्ला अन्तर्गत ग्रामपंचायत बसबिट्टाका २२ वर्षीय सुधिर कुमार कोईरीलाई आज बिहान सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ३ बाट पक्राउ गरिएको हो। सुधिर कुमार कोईरीमाथि २०८० साल वैशाख १० गते घटित अपहरण तथा शारीरिक बन्धक घटनामा संलग्न रहेको आरोप छ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार फरार रहेका अभियुक्त कोईरी लुकिछिपी बसेको सूचना प्राप्त भएपछि विशेष प्रहरी टोली परिचालन गरी उनलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।