पर्यटन नेपालको समृद्धीको आधार हो: मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पर्यटन क्षेत्रलाई नेपालको समृद्धीको आधारका रूपमा रहेको बताएका छन् । नेपाली वाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्यको रुपमा रहेकाले विदेशी मुद्रा आर्जनका लागि समेत यो क्षेत्र उपयोगी रहेको उनको भनाई छ ।
काठमाडौँकाे गोकर्णेश्वर नगरपालिकामा मंगलबार ११ औं तारेभीर महोत्सव उद्घाटन समारोहमा उनले ग्रामिण क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यहरू सम्म पूर्वाधार विस्तार गर्न समेत सरकार प्रतिवद्ध रहेको बताएका हुन् । मौलिक पर्यटकीय गन्तव्यहरू सम्म सडक एवम् पूर्वाधारहरुको विकास र विस्तार गरि ग्रामिण अर्थतन्त्रलाई बलियो बनाउन सकिने मन्त्री दाहालको भनाइ छ ।
“यस्ता सम्भाव्य स्थानहरुमा पूर्वाधार विस्तारको खाँचो छ,” मन्त्री दाहालले भने, “सडक विस्तारले अत्यावश्यकीय सेवा उपयोगका लागि सहज हुनका लागि गाउँमै स्वरोजगारी सिर्जना, कृषि उपजको बजारीकरण एवम् पर्यटकीय क्षेत्रहरुको विकास पनि हुने भएकाले हामी यसलाई प्राथमिकतामा राख्छौं ।”
त्यस क्रममा स्थानीयहरूको तर्फबाट तारेभीर चक्रपथको डीपीआर समेत मन्त्री दाहाललाई हस्तान्तरण गरिएको थियो । उक्त चक्रपथ पूरा भएमा काठमाडौँ भित्रको ग्रामिण क्षेत्रको रुपमा रहेका दर्जनौ बस्तिहरूको जनजीवन सहज हुनका साथै आर्थिक गतिविधि समेत चलायमान हुने बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुँयालले बताए । कार्यक्रममा प्रतिनिधीसभा सदस्य शान्ति श्रेष्ठ, जनप्रतिनिधीहरु, विभिन्न कलाकार लगायतको आतिथ्य रहेको थियो ।
यस्तै विभिन्न समुदायको सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने स्थानीय उत्पादन, परम्परागत सामाग्रीहरुको प्रदर्शन समेत गरिएको थियो । आन्तरीक पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले २०७० साल देखि हरेक वर्ष तारेभीर महोत्सव आयोजना हुँदै आएको जनाइएको छ ।