कम्युनिष्ट पार्टीका नेताले मुलुकको नेतृत्व गरे पनि जनता सन्तुष्ट भएनन्ः अध्यक्ष नेपाल
काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको नेतृत्व कम्युनिष्ट पार्टीका नेताले गरे पनि जनतामा सन्तुष्टि नभएको दाबी गरेका छन् ।
मंगलवार पिस्कर स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले नेपालको राजनीतिमा पछिल्लो समय धेरै विकृति विसंगतिहरू आएको बताएका हुन् । उनले कम्युनिष्ट पार्टी र नेताले मुलुक चलाउने जिम्मेवारी पाएपनि जनतालाई सन्तुष्टि दिनेगरी काम गर्न नसकेको उल्लेख गरे ।
उनले मुलुकको नेतृत्व गर्ने नेतृत्व कम्युनिष्ट नेता भएर मात्रै पनि कम्युनिष्ट आन्दोलन माथि नउठ्ने बताए । उनले नेपालमा पनि कम्युनिष्ट पार्टीका नेताले राज्य सञ्चालन गरेपनि राम्रो काम गर्न नसकेको आरोप लगाए । उनले विश्वका उदाहरण हेर्दा पनि कम्युनिष्ट पार्टीका नेताहरुले नै कम्युष्टि पार्टीलाई सिध्याएको इतिहास रहेको बताए।
अध्यक्ष नेपालले कम्युनिष्टको नाममा गैरकम्युनिष्ट काम कसैले गर्न नहुने धारणा राखे । उनले कम्युनिष्ट भएपछि कम्युनिष्टको नाम र मर्यादा राख्दै विगतको त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम राख्न सक्नुपर्ने उल्लेख गरे ।उनले कम्युनिष्ट नेताले एक पटक मात्रै कीर्तिमान कायम गरेर नहुने बताए । उनले कम्युनिष्ट पार्टीको नेताले जनताको सेवा,मानव कल्याण र समाज परिवर्तनको लागि लगाउन आवश्यक रहेको बताए ।
उनले जनताको सेवा,मानव कल्याण र समाज परिवर्तनको लागि काम गर्ने भावना संप्रेषण गरी युवाहरूलाई असल बाटोमा लैजानसके मात्रै पिस्करका शहीदहरुको सपना पूरा हुने उल्लेख गरे ।