भूकम्प दिवस विविध कार्यक्रमसहित मनाइँदै
भूकम्पीय जोखिम न्यूनीकरणका लागि बलियो संरचना, जनचेतना र नीति कार्यान्वयनमा राष्ट्रिय संकल्प जरुरी
काठमाडौँ । आज भूकम्प दिवस विविध कार्यक्रमसहित मनाइँदै छ । १९९० सालको विनाशकारी भूकम्पको सम्झनामा नेपालमा प्रत्येक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएकाे थियाे ।
यस वर्ष २७ औँ भूकम्प सुरक्षा दिवस विविध कार्यक्रमसहित मनाइँदै छ । “भूकम्पले सिकाएको पाठ: बलियो संरचना र सुदृढ पूर्वतयारी” भन्ने नाराका साथ कार्यक्रमहरू आयोजना गरिएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।
विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सुदृढ पूर्वतयारी, बलियो संरचना निर्माण, र राष्ट्रिय भवन संहिताको पूर्ण कार्यान्वयनमा जोड दिए।
खानी तथा भूगर्भ विभागका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्पीय क्षति न्यूनीकरणका लागि सचेतना र पूर्वसूचना प्रणालीको विकासलाई प्राथमिकता दिनुपर्ने बताए।
जाजरकोट भूकम्पपीडितले अझै पूर्ण राहत नपाएको अवस्थालाई संकेत गर्दै, विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले पूर्वतयारीको अभावले समस्या झनै गहिरिएको उल्लेख गरे।
भूकम्प प्रविधि राष्ट्रिय समाजका डा. रमेश गुरागाईले भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि स्थानीय तहमा भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयन अपरिहार्य भएको बताए । इञ्जिनियर अमितप्रसाद तिमल्सेनाले पनि मापदण्डको पालना र राज्यको कडाइ आवश्यक भएको औँल्याए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भुसालले लाभग्राहीसँग सम्झौता प्रक्रिया सुरु गरी पुनःनिर्माण थालनीको जानकारी दिए।