२ माघ २०८१, बुधबार
लुम्बिनीमा माघ पर्व उत्सव

‘सरकारले मौलिक संस्कृतिलाई आय आर्जनसँग जोड्ने कार्यक्रम बनाएको छ’

प्रकाशित मिति :  15 January, 2025 2:37 pm


दाङ । लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा माघ मिलन कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजधानी परिसर राप्ती उपत्यका देउखुरीमा बुधबार माघ मिलन कार्यक्रमको आयोजना गरेको हो ।

थारु, मगर, नेवारलगायतका समुदायको सांस्कृतिक पहिचान झल्कने झाँकी सहित प्रदेश सरकारले माघ मिलन कार्यक्रम गरेको छ । थारु समुदायको रैथाने खानाहरुको प्रवर्द्धन गरिएको छ ।

ढिक्री, खरिया, बरिया, फुलौरीलगायतका परिकारहरु समेत पस्किएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघ मिलन कार्यक्रमको उद्घाटन गर्दै मौलिक कला संस्कृतिको संरक्षणसँगै त्यसलाई आय आर्जनसँग जोड्नेगरी प्रदेश सरकारले कार्यक्रम बनाएको बताए ।

‘‘माघे संक्रान्ति तथा माघ साझा पर्व हो । लुम्बिनि प्रदेशमा भावनात्मक सम्बन्ध बलियो बनाउन र थप एकता कायम गर्न मद्दत गरेको छ‘’, मुख्यमन्त्री आचार्यले भने, ‘‘मौलिक कला संस्कृतिलाइ पर्यटनसँग जोड्न जरुरी छ । कला संस्कृतिलार्इ पर्वमा मात्रै सिमित गर्ने होइन, अन्य दिनमा पनि संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्न जरुरी छ ।’‘

प्रदेश सरकारले थारु तथा मगर समुदायको कला संस्कृतिको संरक्षण गर्दै आयआर्जन बढाउन होमस्टे सञ्चालनका लागि सिप हस्तान्तरण गर्ने बताए । ‘‘हाम्रा कला संस्कृतिलाई जोगाउँदै समुदायको आर्थिक आम्दानीसँग जोड्न जरुरी छ । यसका लागि प्रदेश सरकारले होमस्टे सञ्चालनका लागि बजेटको व्यवस्था गरेको छ’‘, उनले भने, ‘‘समुदायको आर्थिक सशक्तिकरण नगर्दा सम्म समृद्धि र विकासको चाहना पुरा हुन सक्दैन । यस अर्थमा कला संस्कृतिको संरक्षण र प्रवर्द्धन जरुरी छ ।‘’

प्रदेशको विविधता आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने खालको भएकाले त्यसको प्रचारप्रसार गर्दै पर्यटक आवागमनलाई बढाउन जोड दिए । प्रदेश सरकारले मौलिक पर्वहरुलाई सम्मान गर्दै प्रवर्द्धनकाे नीति लिएको र सोही अनुरुप प्रदेश स्थापना भएदेखि माघ पर्वलाई आयोजना गरिदै आएको जानकारी दिए ।

आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएका थियो । कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख तुलाराम घर्तीमगरले माघ साझा पर्व भएकाले यसले मौलिक कला संस्कृति संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

‘‘पहिचानहरुको संरक्षण गर्न जरुरी छ । यसका लागि सभ्यता जोगाउन आवश्यक छ‘’, उनले भने, ‘‘प्रदेश सरकार स्थापना भएदेखि मौलिक कला संस्कृतिको संरक्षण गर्न तल्लिन छ ।’‘

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजीत थारुले माघ पर्वले एक आपसमा भावनात्मक सम्बन्ध बलियो बनाउन भूमिका खेलेको बताए । ‘‘मौलिक सांस्कृतिकले समुदायमा खुसी र उत्सव कायम गरेको छ‘‘, उनले भने, ‘‘कला संस्कृतिको संरक्षण गर्दै अब आर्थिक गतिविधिलाई बढाउन जरुरी छ ।’‘

प्रदेश सभा सदस्य निमा गिरीले मौलिक कला संस्कृतिको सम्बर्द्धन सबैको साझा मुद्धा बनेको बताए । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रेखा कँडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले गरेका थिए । प्रदेश सरकारले माघ पर्वलाई सम्मान गर्दै आज सार्वजनिक विदा समेत दिएको छ ।



प्रतिक्रिया दिनुहोस !