मुस्ताङ प्रशासन कार्यालयमा आगलागी हुँदा प्रहरी हवलदार घाइते
काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको पुरानो भवनमा आगलागी हुँदा प्रहरी हवलदार घाइते भएका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले राति करीब साढे दुई बजे भएको आगलागीबाट पुरानो भवनको एउटा कोठामा रहेका सामग्रीहरू पूर्ण रूपमा नष्ट भएकाे जानकारी दिए ।
स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरीको सक्रिय प्रयासपछि आगो नियन्त्रणमा लिइएको उनकाे भनाइ छ । घटनामा घाइते भएका प्रहरी हवलदारलाई तत्काल जिल्ला अस्पताल मुस्ताङमा उपचार गरिएको थियो । स्थिति गम्भीर देखिएपछि थप उपचारका लागि उनलाई राति नै पोखरा रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ।
आगलागीको प्रारम्भिक अनुसन्धानले यो घटना विद्युत् सर्ट सर्किटका कारण भएको हुनसक्ने अनुमान गरेको छ। तथापि, आगलागीको एकिन कारण अझै पुष्टि हुन सकेको छैन।
प्रमुख जिल्ला अधिकारी भुसालले घटनास्थलमा क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए । “अहिले नै कति क्षति भयो भन्न सकिने अवस्था छैन, तर सबै विवरण छिट्टै सार्वजनिक गरिनेछ”, उनले भने।