काठमाडौँमा रक्त चन्दनको अवैध कारोबार: ४३१ किलोग्राम बरामद, दुई जना पक्राउ
काठमाडाैँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले रक्त चन्दनको गैरकानूनी कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा निगरानी गरिरहेको प्रहरी टोलीले माघ १ गते राति काठमाडौँ महानगरपालिका वडा नम्बर ३२, पेप्सीकोलास्थित डेरामा लुकाइ राखिएको रक्त चन्दन बरामद गरेको हो।
प्रहरीका अनुसार बेलुका करिब ९ बजे गरिएको खानतलासीमा रक्त चन्दनजस्तो देखिने २९ वटा काठका गोलिया भेटिएका थिए, जसको कुल तौल ४३१ किलोग्राम रहेको छ। बरामद गरिएको रक्त चन्दनलाई आवश्यक कानूनी प्रक्रियाका लागि हात्तिसारस्थित डिभिजन वन कार्यालयमा बुझाइएको छ।
पक्राउ परेका व्यक्तिहरूमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ८ स्थायी घर भएका र हाल पेप्सीकोलामा बसोबास गर्दै आएका ४० वर्षीय ज्ञान बहादुर तिमल्सिना र काठमाडौँ महानगरपालिका वडा नम्बर १४, कलंकीका ४१ वर्षीय रमेश थापा रहेका छन्।
सूचना अधिकारी तथा प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार अवैध वन पैदावारको कारोबार नियन्त्रण गर्न कार्यालय प्रतिबद्ध रहेको छ। पक्राउ परेका व्यक्तिहरूविरुद्ध थप अनुसन्धान भइरहेको छ।