३ माघ २०८१, बिहिबार

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काबिरुद्ध उजुरी आह्वान

प्रकाशित मिति :  16 January, 2025 12:30 pm


काठमाडाैँ । न्याय परिषद् सदस्यमा प्रश्तावित दामोदर खड्काको संसदीय सुनुवाई सुरू भएको छ ।

आज सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाई प्रारम्भ गरेको हो । समितिले न्याय परिषद् सदस्यमा प्रश्तावित खड्काबिरुद्ध उजुरी आह्वान समेत गरेको छ ।

खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त छैन भन्ने लागेको खण्डमा १० दिनभित्र उजुरी दिन सकिनेछ । उजुरी कर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहनेछ । समितिको बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले न्याय परिषद्को सदस्य पदमा नियुक्तिका लागि प्रस्तावित दामोदर खड्काको नाम प्रश्ताव गरी संसदीय सुनुवाई हुन न्याय परिषद्बाट समिति समक्ष पुस २९ गते आएको बताइन् ।

संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिका सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने र निजको सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सो सम्बन्धी सूचना सरकारी सञ्चारमाध्यमार्फत सार्वजनिक गर्न प्रस्ताव गरिन् । प्रस्तावलाई समितिले सर्वसम्मत पारित गरेको छ ।

समिति सभापति न्यौपानेले सुनुवाईको लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने र प्रश्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनको लागि सरकारी सञ्चारमाध्यम र इमेल जस्ता विद्युतीय सञ्चारका माध्यमबाट संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफाअनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिइन् ।

समितिको बैठक अर्को सूचना जारी भएपछि बस्नेगरी आजको बैठक स्थगित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !