सरकारमा काँग्रेस-एमालेबिच कुनै समस्या नरहेकाे गृहमन्त्री लेखककाे दाबी
काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारमा कुनै समस्या नरहेको दाबी गरेका छन् ।
बिहीवार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्यप्रगति विवरणबारे जानकारी गराइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले काँग्रेस र एमाले सम्मिलित सरकारमा कुनै बाधा, व्यवधानहरु नरहेको जिकिर गरे ।
उनले सभापतिसँग आफ्नो मन्त्रालयका कामहरू अझ कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको बताए । नेकपा एमाले र नेपाली काँग्रेसकोबिचमा बनेको सात बुँदे सहमतिअनुसार अहिलेको सत्ता समीकरणलाई अघि बढाउने र राम्रो ढंगबाट जनतामा सेवा प्रवाह गर्ने विषयमा छलफल केन्द्रित रहेको बताए । मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्नेकुरामा केन्द्रित भएर काम गर्ने विषयमा छलफल भएको बताए ।
गृहमन्त्री लेखकले काठमाडौं जिल्ला अदालत परिसरमा बुधवार अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपात निन्दनीय भएको बताए । उनले अराजक गतिविधि गर्नेलाई कारबाही हुने बताए । उनले नेपालमा व्यवसायिक स्वतन्त्रता रहेको बताए । बुधवार स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा थुनछेक बहस सकिएपछि बाहिर निस्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो ।
गृहमन्त्री लेखकले पुनः सर्च कमिटी बनाएर संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई वटै आयोगहरू गठन गर्ने पनि जानरकारी दिए ।