३ माघ २०८१, बिहिबार

काँग्रेसले दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा संसदीय दल अनुशासन समिति बनायो

प्रकाशित मिति :  16 January, 2025 3:10 pm


काठमाडाैँ । नेपाली काँग्रेसले संसदीय दल अनुशासन समिति बनाएको छ ।बिहीवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको काँग्रेस संसदीय दल केन्द्रिय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले समितिको संयोजकमा सांसद दिलेन्द्रप्रसाद बडूलाई तोकेको छ । पार्टीको तर्फबाट सार्वजनिक लेखा समितिको संयोजकमा सञ्जय गौतम, अर्थ समितिको संयोजकमा डा. प्रकाशशरण महत, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको संयोजकमा चन्दा चौधरीलाई तोक्ने निर्णय भएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।

उनकाअनुसार बैठकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको दुव्र्यवहारको भत्र्सना गर्नुका साथै दोषीमाथि कारबाहीको माग गरेको छ । संसदीय समितिमा रहेका विधेयकहरुलाई तत्काल पास गर्न सहजीकरण गर्ने र नयाँ विधेयक ल्याउन सरकारलाई आग्रह गर्ने निर्णय भउको बताए । बैठकले संविधान कार्यान्वयनका केही अत्यावश्यक विधेयकहरु संसदमा छिटो भन्दा छिटो ल्याउन आग्रह गर्ने निर्णय पनि गरेको छ । 

बैठकले दुई दिन पार्टीका नेता/कार्यकर्ताहरुसँग पार्टी कार्यालयमा भेटेर जनताका आवाज सुन्ने र ५ दिन मन्त्रालयको काममा लाग्न पनि निर्देशन दिएको छ । प्रमुख सचेतक घिमिरेले सांसदहरुको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रालयहरुले समन्वय गर्ने निर्णय भएको पनि बताए । पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरुमार्फत पार्टी केन्द्रिय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरुका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रिय कार्यालयमा छलफल गर्ने निर्णय भएको बताए। 



प्रतिक्रिया दिनुहोस !