विदेशी शिक्षाप्रति नेपाली विद्यार्थीको आकर्षण : पाँच महिनामै ४७ अर्बभन्दा बढी रकम बाहिरियो
काठमाडौँ । नेपालमा गुणस्तरीय विश्वविद्यालय र शैक्षिक संस्थाहरूको अभावले गर्दा विदेशी शिक्षामा नेपाली विद्यार्थीहरूको आकर्षण घट्न सकेको छैन। चालु आर्थिक वर्षका पहिलो पाँच महिनामा मात्र नेपालीहरूले विदेशी अध्ययनका लागि झन्डै ४७ अर्ब ३४ करोड रुपैयाँ खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक विवरणअनुसार भ्रमण व्ययसमेत उल्लेखनीय रूपमा बढेको देखिएको छ। पाँच महिनाको अवधिमा भ्रमण व्यय १२.२ प्रतिशतले वृद्धि भई ८५ अर्ब १ करोड पुगेको छ। यसमा मात्र शिक्षातर्फको व्यय ४७ अर्ब ४१ करोड रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड रहेको तथ्याङ्कले संकेत गरेको छ।
यस अवधिमा नेपालले सेवामा घाटा व्यहोर्नुपरेको छ। मंसिर मसान्तसम्म खुद सेवा आय ४० अर्ब ७१ करोड रुपैयाँ घाटामा पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा थप गहिरिएको छ। गत वर्ष यो घाटा २६ अर्ब ५५ करोड मात्र थियो।
सेवा खाताअन्तर्गत् भ्रमण आय भने तीन दशमलव एक प्रतिशतले बढेर ३५ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्ष यो आय ३४ अर्ब १२ करोड मात्र थियो।
विदेशी शिक्षामा भइरहेको व्यापक खर्चले नेपालभित्रै उच्चस्तरीय शैक्षिक संरचनाको विकासको खाँचोलाई थप प्रस्ट पारेको छ। यो प्रवृत्तिले दीर्घकालीन रूपमा देशको आर्थिक संरचनामा प्रभाव पार्ने सम्भावना छ।