निर्माण व्यवसायीहरूले भौतिकमन्त्री दाहाललाई बुझाए ज्ञापन पत्र
काठमाडाैँ । नेपाल निर्माण व्यवसयी महासंघले व्यवसायीहरुका माग र समस्यालाई सम्बोधन गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।
निर्माण कार्य हुने सिजनमा नै सिमेन्ट र डण्डी उद्योगीहरुले मूल्य वृद्धि गरेको तथा भुक्तानी अभाव, र सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानूनी जटिलता हटाउन माग गर्दै मन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएको महासंघका अध्यक्ष रवि सिंहले बताए ।
उनले निर्माण व्यवसायीहरुका माग सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको उल्लेख गरे । प्रधानमन्त्री, विकासे मन्त्रालयका मन्त्री, सबै मन्त्रीहरु, राजनितिक दलका अध्यक्षहरुलाई माग पूरा गर्न १५ दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझाउने उनकाे भनाइ छ । व्यवसायीका माग सम्बोधन नभए महासंघले आगामी माघ १८ गते काठमाडौंको माईतीघर मण्डलामा धर्ना गर्ने घोषणा गरिसकेको उनले बताए ।
यसअघि महासंघ बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्ना मागहरु पूरा नभए माघ २० गते प्रधानमन्त्री निवास वालुवाटारमा धर्ना दिने बताएको थियो । अध्यक्ष सिंहले त्यसपछि पनि माग सम्बोधन नभए माघ २१ गतेदेखि काठमाडौं उपत्यका प्रवेश गर्ने पूर्वी पश्चिम नाका ठप्प पार्ने चेतावनी दिए ।
उनले त्यसपछि पनि सरकारले व्यवसायीहरुका माग सम्बोधन नभए राष्ट्रिय गौरवका आयोजना सहित सबै खालका निर्माण कार्य ठप्प पारी आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गरिने बताए ।