माधव नेपालको प्रश्नः संविधान संशोधन गर्ने भनेर ०८७ सम्म ओलीलाई सरकारमा टिकाइदिनुपर्ने ?
काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन् ।
शुक्रवार काठमाडौँमा विपक्षी दलहरुको पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनतालाई सुशासन, रोजगारी दिन र उत्पादन बढाउन अहिलेको सरकारले नसकेको बताएका हुन् । उनले सरकार असफल भएको भन्दै सरकारका क्रियाकलापहरु पनि सन्तोषजनक नरहेको बताए ।
उनले अहिलेको सरकारले संविधानलाई पूर्ण रुपमा बेवास्ता गरेको बताए । उनले संविधान संशोधन गर्न भनेर ०८७ सम्म अहिलेका प्रधानमन्त्रीलाई टिकाइदिनुपर्ने ? भन्दै प्रश्न गरे ।
“वास्तवमा यो सरकारले जन अपेक्षाहरु पूरा गर्न सकेको छैन । यो सरकार जनतालाई सुशासन दिन सकेको छैन, रोजगारी प्रवद्र्धन गर्न सकेको छैन, उत्पादन बढाउन सकेको छैन । समाजमा सकारात्मक सन्देश दिन सकेको छैन । त्यसैले यो सरकार असफल छ । अहिले सरकारको काम र क्रियाकलाप सन्तोषजनक छैन । सबै क्षेत्रमा यसको काम अत्यन्तै अलोकतान्त्रिक छ । संविधानलाई पूर्ण रुपमा बेवास्ता गरेको छ,” उनले भने ।
अध्यक्ष नेपालले सरकारका कामको आलोचना गर्नुको मतलव विकल्पमा तयार छौँ भन्ने नरहेको जिकिर गरे । सरकारले सदनलाई बेवास्ता गरेको खण्डमा विपक्षी दलहरुले सडक संघर्ष गर्ने बताए ।