माैसम अपडेट : पश्चिमी वायुको प्रभावले तराईमा हुस्सु र कुहिरो
काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
विशेष गरी बिहानको समयमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात, र हवाई उडानमा असर पर्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ, भने बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज मौसम सफा रहने बताइएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दिउँसो हिमाली क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ। पहाडी क्षेत्रहरूमा पनि आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।
महाशाखाले आज राति दुवै प्रदेशमा हिमाली क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहने र केही स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि व्यक्त गरेको छ।
यस परिस्थितिमा स्वास्थ्य, यातायात र हवाई उडानसँग सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउन र आवश्यक तयारी गर्न मौसम विभागले अनुरोध गरेको छ।