स्याङ्जामा टिप्पर दुर्घटना हँदा एकको मृत्यु, चार घाइते
स्याङ्जा । स्याङ्जाको आँधिखोला गाउँपालिका-५ स्थित कृषि-ओहिया भित्री कच्ची सडक खण्डमा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। ग १ क ५१३९ नम्बरको आराम्भ निर्माण सेवाको टिप्पर कृषि गाउँबाट ओहिया जाँदै गर्दा सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो।
माघ ४ गते राति करिब ११ बजे भएको यस दुर्घटनामा घाइते भएका पाँचजनालाई उपचारका लागि पोखराको पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पठाइएको थियो। उनीहरूमध्ये पर्वतको कुश्मा नगरपालिका-१४ निवासी ३७ वर्षीय चन्द्रबहादुर नेपालीको उपचारका क्रममा माघ ५ गते राति १ बजे मृत्यु भएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको छ।
अन्य चारजना घाइतेमध्ये सल्यान, शारदा नगरपालिका-७ का १५ वर्षीय हरि परियार, स्याङ्जा, आँधिखोला गाउँपालिका-२ का ३३ वर्षीय कमल नेपाली, चितवन, राप्ती नगरपालिका-६ का ४१ वर्षीय प्रकाश विक र सोही ठाउँकी ४१ वर्षीया सुमित्रा विक रहेका छन्। घाइतेहरूको टाउको र हातखुट्टामा चोट लागेको छ र उनीहरूको उपचार पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा भइरहेको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ।