५ माघ २०८१, शनिबार

कोइलाबास नाकालाई पुनर्जीवन दिन नेपाल–भारत व्यवसायीबीच महत्त्वपूर्ण छलफल

प्रकाशित मिति :  18 January, 2025 6:07 pm


दाङ । नेपाल र भारतबीचको व्यापारिक र सांस्कृतिक सम्पर्कस्थल कोइलाबास नाकालाई पुनः सक्रिय बनाउने उद्देश्यले भारतको तुलसीपुरमा दुई देशका व्यवसायिक नेतृत्वबीच छलफल भएको छ ।

दाङको देउखुरी उद्योग वाणिज्य संघ लमही र भारतको बलरामपुर उद्योग व्यापार मण्डलका प्रतिनिधिहरू बीच सम्पन्न बैठकमा कोइलाबास नाका सञ्चालन, व्यापारिक सहजीकरण र धार्मिक पर्यटन प्रवद्र्धनको विषयमा गहन विमर्श भएको हो ।

कोइलाबास नाका पुनर्जीवन : आर्थिक लाभ र सांस्कृतिक सम्पर्कको सम्भावना
बैठकमा नेपाली प्रतिनिधित्व गरेका देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले कोइलाबास नाकाको पुनः सञ्चालनले दुवै देशका लागि आर्थिक लाभ मात्र नभई सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने धारणा राखे ।

त्यस्तै भारतको बलरामपुर उद्योग व्यापार मण्डलका महासचिव दिलिपकुमार गुप्ताले सीमा व्यापार सहजीकरणका लागि भन्सार प्रणालीलाई डिजिटल बनाउने प्रतिबद्धता जनाए । साथै धार्मिक पर्यटकीय मार्गहरूलाई प्रवद्र्धन गर्दै दुई देशबीचको सांस्कृतिक सम्पर्कलाई सुदृढ बनाउन महत्त्वपूर्ण कदम चालिने आश्वासन दिए ।

कोइलाबास नाका : साझा प्रयासको आवश्यकता
बैठकमा दुवै पक्षले कोइलाबास नाकाको पुनःउत्थानका लागि प्रभावकारी योजना निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । देउखुरी उद्योग वाणिज्य संघका कोषाध्यक्ष हरिथापाले २०५१/०५२ सालदेखि प्रायः ठप्पजस्तै रहेको कोइलाबास नाका हाल पनि आर्थिक सम्भावनाको कडी बन्न सक्ने धारणा राखे ।

सहभागीहरूले कोइलाबास नाका व्यापारिक मार्ग मात्र नभएर नेपाल–भारत सांस्कृतिक र धार्मिक सम्पर्कको प्रतीक भएको भन्दै यसको पुनः सञ्चालनले दुवै देशबीच आपसी भाइचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

देउखुरी उद्योग वाणिज्य संघले आगामी सातौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सवको तयारी थालनी गरेको जानकारी दिँदै भारतीय प्रतिनिधिहरूलाई औपचारिक निमन्त्रणा दिएको छ ।

कोइलाबास नाका व्यापारिक मार्गका रूपमा मात्र सीमित छैन । यो नाका धार्मिक पर्यटनका लागि पनि महत्त्वपूर्ण केन्द्र हो । रामायणकालीन इतिहासदेखि जोडिएको कोइलाबास क्षेत्र दुई देशका जनतालाई सांस्कृतिक रूपमा समेत जोड्न सक्ने सामर्थ्य राख्छ ।

यस क्षेत्रको पुनः सञ्चालन दुवै देशका सरकार र निजी क्षेत्रले साझेदारी गरेर मात्र सम्भव हुनेमा सहभागीहरूको सहमति देखिएको छ । कोइलाबास नाकाको पुनर्जीवनले नेपाल–भारतबीचको व्यापारिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !