५ माघ २०८१, शनिबार

घोराहीमा पर्यटन तथा सांस्कृतिक प्रदर्शनी सुरु : ‘खाम भाषाले मगर समुदायलाई एकता र पहिचान दिएको छ’

प्रकाशित मिति :  18 January, 2025 6:20 pm


दाङ । दाङको घोराहीमा पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८१ सुरु भएको छ । नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा झिंगौरामा सुरु भएको यो महोत्सव मगर समुदायको सांस्कृतिक पहिचान, पर्यटन प्रवद्र्धन र आर्थिक सम्भावनालाई उजागर गर्ने विशेष अवसर बनेको छ ।

खाम भाषाको संरक्षणमा घोराही उपमहानगरको पहल
महोत्सव उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले मगर समुदायको खाम भाषा ओझेलमा परेकोप्रति चिन्ता व्यक्त गर्दै यसको पुनर्जीवनका लागि ठोस योजना अघि सारेका छन् । उनले भने, “खाम भाषाले मगर समुदायलाई एकता र पहिचान दिएको छ । अब यसलाई लेखपढको भाषा बनाएर पुस्तान्तरण गर्नु हाम्रो दायित्व हो ।”

नगरप्रमुख चौधरीका अनुसार आगामी शैक्षिक सत्रदेखि घोराही उपमहानगरमा खाम भाषाको पाठ्यक्रम लागू गरिनेछ । साथै कला, संस्कृति र भेषभुषालाई व्यवसायीकरण गरेर रोजगारी र आर्थिक विकाससँग जोड्ने उद्देश्यमा स्थानीय सरकार प्रतिबद्ध रहेको उनले बताए ।

मगर समुदायको सांस्कृतिक पहिचानमा नयाँ उचाइ
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दर्जीत रोकामगरले मगर समुदायको कला, संस्कार र संस्कृति जगेर्नाका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए । उनले भने, “हाम्रो सांस्कृतिक धरोहरको संरक्षणले हाम्रो पहिचान जोगाउनुका साथै पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुर्याउँछ ।”

नेकपा एमाले दाङ जिल्ला उपाध्यक्ष मनोहर बुढाले संस्कृतिको संरक्षणमा स्थानीय सरकारको भूमिका निर्णायक हुने बताए । त्यस्तै नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले नेपाली संस्कृति उत्पादन र रोजगारीसँग जोडिएको उल्लेख गर्दै यसको विकासका लागि समुदाय र राज्यबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा थारु कल्याणकारीणी सभाका अध्यक्ष अशोक चौधरी, चेम्बर अफ कमर्शका सदस्य टोपबहादुर घर्तीमगर, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीलगायतले कला र संस्कृतिको संरक्षणमार्फत् आर्थिक विकास र पर्यटन प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

सांस्कृतिक र्याली र मगर कला प्रदर्शन
कार्यक्रमको मुख्य आकर्षण सहिद लखन थापा पार्कबाट सुरु भएको भव्य सांस्कृतिक र्याली थियो । मगर समुदायको झल्को दिने भेषभुषा, झाँक्री परम्परा र सांस्कृतिक झाँकीसहितको ¥यालीले बजार परिक्रमा गर्दै महोत्सव स्थलमा प्रवेश गरेको थियो । महोत्सवमा मगर संस्कृतिका विभिन्न नृत्य, सांस्कृतिक प्रस्तुति र परम्परागत भेषभुषाले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो ।

बहुउद्देश्यीय मगर संग्रहालय निर्माणको सपना
माघ ५ देखि ११ गतेसम्म सात दिनसम्म चल्ने यो महोत्सवबाट संकलित आम्दानीलाई बहुउद्देश्यीय मगर संग्रहालय निर्माणमा लगानी गरिने आयोजकले बताएको छ । संग्रहालयले मगर समुदायको समृद्ध इतिहास, कला र परम्परालाई जोगाउने मात्र होइन, नयाँ पुस्तालाई आफ्नो जरा चिन्न प्रेरित गर्ने लक्ष्य राखेको छ । कार्यक्रम सञ्चालन संघका कार्यबाहक सचिव गणेश प्रताप पुनमगरले गरेका थिए । ‘



प्रतिक्रिया दिनुहोस !