बुटवलमा छैठौँ राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी फागुन १५ गतेदेखि हुँदै, २० करोडको कारोबार हुने अनुमान
काठमाडौँ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) ले छैठौँ राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी २०८१ यही फागुन १५ देखि १८ गतेसम्म बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल, बुटवलमण्डप, रुपन्देहीमा आयोजना गर्ने भएको छ। कृषि क्षेत्रमा यान्त्रिकरण र आधुनिकीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले यो प्रदर्शनी आयोजना गरिंदैछ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघका महासचिव अर्जुन प्रसाद लुइटेलले विसं २०७० सालमा चितवनबाट सुरू भएको यो प्रदर्शनीको श्रृंखलाले नेपालमा कृषि यान्त्रिकरणको विकासमा महत्त्वपूर्ण योगदान दिएको बताए। उनले पहिलो प्रदर्शनीको समयदेखि हालसम्म कृषि प्रविधिमा आएको प्रगतिमा यस्ता कार्यक्रमको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे।
प्रदर्शनीले किसानहरूलाई आधुनिक कृषि प्रविधि र यन्त्रहरूसँग नजिक बनाउने लक्ष्य राखेको छ। विश्व बजारमा रहेका नवीनतम उपकरण र प्रविधिको अवलोकन गर्न किसानलाई अवसर प्रदान गर्न यो प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास महासचिव लुइटेलको छ । साथै, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै स्वदेशमै निर्माण भएका कृषि उपकरणहरूलाई पनि प्रदर्शनीमा समावेश गरिनेछ।
महासचिव लुइटेलका अनुसार, कार्यक्रम अवधिभर कृषि यान्त्रिकरणसँग सम्बन्धित विभिन्न वर्कशपहरू सञ्चालन हुनेछन्। यसमा नेपाल सरकारका विज्ञ र कृषि क्षेत्रसँग जोडिएका सरोकारवालाहरूको सहभागिता हुनेछ। यी वर्कशपहरूले नीति निर्माणका लागि उपयोगी बहस सिर्जना गर्नेछन्, जसले नेपालमा कृषि यान्त्रिकरणको विकासलाई नयाँ दिशा प्रदान गर्ने अपेक्षा आयोजकको छ ।
प्रदर्शनीमा १४० वटा स्टल हलभित्र र ५० वटा स्टल बाहिर रहनेछन्। आवश्यकताअनुसार स्टलको संख्या बढाउन सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रदर्शनीको क्रममा करिब २० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।
यस प्रर्दशनले किसान र कृषि व्यवसायीहरूलाई विश्वव्यापी कृषि प्रविधिसँग परिचित गराउँदै नेपालको कृषि क्षेत्रलाई आर्थिक समृद्धिको मार्गमा डोर्याउने विश्वास लिइएको छ ।